पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • काठमाडौँ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने वर्तमान व्यवस्थाले विदेशीको इसारामा दलाई लामाको जन्मजयन्ती मनाउन भने अनुमति दिएको भन्दै कडा आलोचना गरेका छन्।

    भक्तपुरस्थित आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले सरकार र वर्तमान राजनीतिक प्रणालीले राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । उनले देश निर्माण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने तर विदेशी शरणार्थी र बाह्य पात्रहरूलाई प्रश्रय दिने सरकारी नीतिले मुलुकको अस्मिता खतरामा परेको टिप्पणी गरे।

    ‘नेपाल राष्ट्र बनाउने राजा पृथ्वीनारायण शाहको फोटोमा थुक्ने र झण्डा जलाउनेहरूलाई कारबाही हुँदैन, तर राष्ट्रिय पहिचानको कुरा गर्नेलाई दबाउन खोजिन्छ,’  प्रसाईँले भने, ‘काठमाडौँमा दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिने यो सरकारले आफ्नै देशका सुकुम्बासी र गरिबलाई भने उठिबास लगाइरहेको छ।’

    प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा तिब्बती र रोहिंग्या शरणार्थीहरूले आश्रय पाइरहेको तर नेपाली नागरिकहरू भने आफ्नै भूमिमा सुकुम्बासी भएर खोलाका किनारबाट लखेटिनु परेको भन्दै आक्रोश व्यक्त गरे। उनले थपे, ‘हाम्रो देशमा विदेशीले शरण पाउने तर नेपालीले चाहिँ खोलाको डिलमा पनि बास नपाउने कस्तो विडम्बना हो ?

    पत्रकार सम्मेलनमा उनले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र ट्राफिक जरिवानाका नाममा भइरहेको असुलीले सर्वसाधारणको बाँच्ने अधिकार खोसिएको बताए। हालै ट्राफिक जरिवाना तिर्न नसकेर आत्महत्या गरेका भनिएका गणेश नेपालीको प्रसङ्ग जोड्दै उनले सरकारले गरिबलाई मर्न बाध्य पारेको दाबी गरे।

    उनले आफूलाई सरकारले ‘नजरबन्द’ मा राखेर जनताको आवाज दबाउन खोजेको भन्दै आगामी दशैँसम्ममा यो व्यवस्था विरुद्ध सशक्त आन्दोलन छेड्ने चेतावनी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar