चिल्ड्रेन्स पार्कमा महानगरको छापा : हुका, चुरोट, रक्सी–बियरसहित सुर्तीजन्य सामग्री बरामद, बालमैत्री वातावरण जोगाउन कडाइ

  • कालिका खवर
  • बिहिबार, असार १८, २०८३
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित शंखधर साख्वा चिल्ड्रेन्स पार्क क्षेत्रमा सञ्चालित होटल तथा क्याफेहरूमा बालबालिकाको स्वास्थ्य, नैतिक विकास तथा भविष्यमा प्रतिकूल असर पार्ने हुका, चुरोट, खैनी, गुट्खा, रक्सी, बियर लगायतका सुर्तीजन्य तथा मदिराजन्य पदार्थहरूको बिक्री तथा प्रयोग भइरहेको सूचनापछि वीरगञ्ज महानगरपालिकाले छापामारी गरेको छ।

    महानगरपालिकाका कार्यवाहक नगरप्रमुख ईम्त्याज आलम को निर्देशनमा खटिएको टोलीले गरेको अनुगमनका क्रममा हुका, चुरोट, सुर्तीजन्य सामग्री तथा मदिराजन्य वस्तुहरू बरामद भएको जानकारी महानगरपालिकाले दिएको छ।

    चिल्ड्रेन्स पार्क बालबालिकाले खेल्ने, सिक्ने, रमाउने र स्वस्थ वातावरणमा समय बिताउने उद्देश्यले निर्माण गरिएको सार्वजनिक स्थल हो। यस्तो स्थानमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र प्रयोग हुनु बालमैत्री वातावरणको मर्मविपरीत मात्र होइन, बालबालिकामा गलत व्यवहार र जीवनशैलीप्रति आकर्षण बढाउने गम्भीर विषय पनि हो।

    स्वास्थ्य विज्ञहरूका अनुसार हुका चुरोटभन्दा सुरक्षित हुन्छ भन्ने धारणा पूर्ण रूपमा भ्रम हो। हुकाको धुवाँमा निकोटिन, कार्बन मोनोअक्साइड, भारी धातु तथा अन्य विषाक्त रसायनहरू पाइन्छन्, जसले फोक्सो, मुटु र श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढाउँछ। एउटै हुका धेरै व्यक्तिले प्रयोग गर्दा संक्रामक रोग सर्ने सम्भावना पनि रहन्छ।

    त्यसैगरी चुरोट तथा अन्य सुर्तीजन्य पदार्थबाट निस्कने धुवाँले प्रत्यक्ष सेवन नगर्ने बालबालिकालाई समेत गम्भीर असर पुर्‍याउँछ। यसले दम, श्वासप्रश्वासको संक्रमण, फोक्सोको विकासमा अवरोध, कानको संक्रमण तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। सानै उमेरदेखि यस्ता वस्तुहरू सहज रूपमा देख्ने वातावरणले भविष्यमा उनीहरूमा सुर्तीजन्य पदार्थप्रति जिज्ञासा र लत बस्ने जोखिमसमेत बढाउँछ।

    रक्सी तथा बियरजस्ता मदिराजन्य पदार्थहरूको खुलेआम बिक्री वा सेवन हुने वातावरणले पनि बालबालिकाको मानसिक तथा सामाजिक विकासमा नकारात्मक प्रभाव पार्न सक्छ। सार्वजनिक पार्कमा मदिराजन्य गतिविधि बढ्दा असुरक्षित वातावरण सिर्जना हुने, अनुचित व्यवहार सामान्य देखिन थाल्ने तथा बालबालिकाले गलत सन्देश ग्रहण गर्ने जोखिम रहने विज्ञहरूको भनाइ छ।

    यसै कारण बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएका सार्वजनिक पार्कहरूलाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थमुक्त क्षेत्र बनाउनु आजको आवश्यकता हो। यस दिशामा वीरगञ्ज महानगरपालिकाले गरेको छापामारी र अनुगमन बालमैत्री समाज निर्माणतर्फको प्रशंसनीय र सकारात्मक कदमका रूपमा हेरिएको छ।

    स्थानीयवासीले पनि यस्ता गतिविधिमाथि नियमित अनुगमन, कानुनी कारबाही र सार्वजनिक स्थलको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन महानगरसँग आग्रह गरेका छन्। स्वस्थ, सुरक्षित र सकारात्मक वातावरणमा हुर्किएका बालबालिकाले नै समृद्ध समाजको निर्माण गर्ने भएकाले चिल्ड्रेन्स पार्कजस्ता सार्वजनिक स्थलहरूलाई सुर्ती, मदिरा तथा अन्य हानिकारक गतिविधिबाट मुक्त राख्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar