प्रशंसा डोजोको २३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • कालिका खवर
  • सोमवार, असार १५, २०८३
  • प्रकाश समीर

    काठमाडौं। कलंकीस्थित जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपाल अन्तर्गतको प्रशंसा डोजोले आफ्नो स्थापना दिवसको २३औँ वार्षिकोत्सव आन्तरिक कराँते प्रतियोगिता, पुरस्कार वितरण तथा केक काटेर भव्य रूपमा सम्पन्न गरेको छ।
    नेपाल कराँते महासंघका उपाध्यक्ष, जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालका प्रमुख प्रशिक्षक तथा संस्थापक महासचिव डा.ओमकृष्ण प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले स्थानीय तहबाट कराँते खेलको विकासमा प्रशंसा डोजोले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनु भयो । उहाँले यस्ता गतिविधिले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    विगत २३ वर्षदेखि निरन्तर रूपमा कराँते प्रशिक्षण प्रदान गर्दै आएको प्रशंसा डोजोले नयाँ पुस्तामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

    वार्षिकोत्सवको अवसरमा आयोजित आन्तरिक कराँते प्रतियोगितामा विभिन्न उमेर समूहका १९० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    डोजोका अध्यक्ष प्रशान्त उप्रेतीले नियमित प्रशिक्षणसँगै आयोजना गरिने प्रतियोगिताले खेलाडीहरूको आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

    डोजोकी प्रमुख प्रशिक्षक जलिना खतिवडाले स्थापना कालदेखि नै निरन्तर रूपमा कराँते प्रशिक्षण सञ्चालन गर्दै स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। समापन समारोहमा उहाँले आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री प्रशिक्षणमार्फत देशका लागि सक्षम र अनुशासित खेलाडी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा संघका सचिव सुरेन्द्र केसीले प्रशंसा डोजोले विगत २३ वर्षदेखि स्थानीय स्तरमा कराँते खेलको विकासमा खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै समर्पित प्रशिक्षक र अनुशासित खेलाडीहरूको मेहनतले नेपाली कराँतेको भविष्य थप उज्ज्वल बन्ने विश्वास व्यक्त गर्नुभयो।

    समारोहमा संघका केन्द्रीय सदस्य बसन्तराज वाइबा, बागमती प्रदेश अध्यक्ष तथा वरिष्ठ कराँते प्रशिक्षक विनोद राना, काठमाडौं जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठलगायत खेलकर्मी, अभिभावक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको अन्त्यमा २३ औँ वार्षिकोत्सवको अवसरमा सामूहिक रूपमा केक काटी उत्सव मनाइएको थियो। समारोह सफल बनाउन सहयोग गर्ने अभिभावक, खेलाडी तथा सम्पूर्ण सहयोगीप्रति प्रशंसा डोजो परिवारले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar