धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

  • कालिका खवर
  • सोमवार, असार १५, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।

    सोमबार २३ औं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै उनले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका हुन् ।

    राष्ट्रपति पौडेलले खाद्य सुरक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए । जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखिएको बताउदै उनले सरकारले सिँचाइ पूर्वाधार विस्तार, जलवायुमैत्री कृषि प्रविधिको विकास तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने बताए ।

    उनले भने, ‘जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो ।’ मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए ।

    हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचार लगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उनको भनाइ छ ।

    उनले भने, ‘धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट छ । नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकाले असार पन्ध्रलाई दहीचिउरा खाने दिन पनि भनिन्छ ।’

    राष्ट्रपति पौडेलले सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar