उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल लगनखेलमा , ३ जिल्लाका २४ खेलाडी सहभागी

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • ललितपुर– ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिता २०८३’ ललितपुरमा आइतबार आयोजना गरिँदैछ । उपत्यकाका तीन जिल्ला भित्र रहेका बौद्धिक अपाङ्गता भएका खेलाडीको सहभागितामा हुने यो प्रतियोगितामा २४ जना खेलाडी सहभागी हुने स्पेशल ओलम्पिक्स नेपालद्वारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले ५० मिटर र १०० मिटर दौड, लङ जम्प र सफ्ट बल थ्रो खेलमा प्रतिस्पर्धा गर्ने स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले जानकारी दिइन् ।बागमती प्रदेश खेलकुद विकास परिषद्सँगको सहकार्यमा स्पेशल ओलम्पिक्स नेपालले आइतबार लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    प्रतियोगितामा भक्तपुर, ललितपुर र काठमाडौँका ४ जना पुरुष र ४ जना महिला गरी जम्मा ८ –८ जनाका दरले जम्मा २४ जना बौद्धिक अपाङ्गता भएका खेलाडीहरुको सहभागिता रहने अध्यक्ष थापाले जानकारी दिइन् ।

    ट्रयाक इभेन्टमा पुरुषको ५० मिटर र १०० मिटर दौड तथा महिलाको पनि उही दुरीको प्रतिस्पर्धा हुनेछ। फिल्ड इभेन्टमा पुरुष र महिलाको छुट्टाछुट्टै लङ जम्प र सफ्ट बल थ्रो हुनेछ । ३ वटै जिल्लाले खेलाडीका अतिरिक्त १ जना प्रशिक्षक र १ जना ब्यवस्थापक प्रतियोगितामा ल्याउने आयोजकले जनाएको छ ।

    बैद्धिक अपाङ्गता अवस्था भएका खेलाडीहरुको खेल प्रतिभा विकास , आत्मविश्वास अभिवृद्धि, सामाजिक समावेशीकरण तथा खेलकुदमार्फत समान अवसर सुनिश्चित गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको महासचिव सीमा राईले जानकारी दिइन् ।

    स्पेसल ओलम्पिक्स नेपालकी अध्यक्ष थापाले विविध कारणले स्थगित स्पेशल ओलम्पिक्स प्रतियोगिता १० वर्षपछि आयोजना गर्न लागिएको जानकारी दिइन् । उनले खेलमार्फत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र अभिभावकको समेत आत्मविश्वास बढ्ने बताउनुभयो । उनीहरूको खेलसम्बन्धी प्रतिभा पहिचान गर्न मद्दत मिल्ने र नेतृत्व विकासमा समेत योगदान पुग्ने आशा उनको छ । यसअघि पनि नेपाली बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा आयोजना भएका खेल प्रतियोगितामा प्रतिस्पर्धा गरी विभिन्न पदक प्राप्त गरेको उनले बताइन् ।

    स्पेशल ओलम्पिक्स नेपालका उपाध्यक्ष डा. लाक्पा शेर्पाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने ‘विशेष खेल’ को सुरुवातसम्बन्धी जानकारी दिँदै अमेरिकामा सुरु भएको सो खेलले बौद्धिक अपाङ्गता भएकाहरूलाई आफूलाई प्रस्तुत गर्ने अवसर दिने बताए । नेपालमा पनि यस्ता व्यक्तिहरूका लागि खेल खेल्ने अवसर जुटाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।

    स्पेशल ओलम्पिक्स नेपालका महासचिव राईले सन् २०२७ मा अमेरिकामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतियोगिता आयोजना हुन गइरहेको र नेपालले पनि त्यसमा सहभागिता जनाउने बताइन् । सोही प्रतियोगिताको तयारी स्वरूप यस्ता खेलहरू राष्ट्रव्यापी रूपमा आयोजना गर्दै जाने स्पेशल ओलम्पिक्सको लक्ष्य रहेको उनले बताइन् ।

    उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतियोगिताका विजयी खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदकबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल बजेट रु ३ लाख रहेको अध्यक्ष थापाले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar