काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन असार दोस्रो साता , विजेताले ४० हजार सम्म पुरस्कार पाउने

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • ललितपुर –काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ असार दोस्रो साता हुने भएको छ।
    काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता असार १२ देखि १४ गतेसम्म काठमाडौं–१५ स्थित एनओसी भूकम्प स्मृति कभर्ड हल, डल्लु आवासमा सञ्चालन हुनेछ।
    नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा महानगरका ३२ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
    नितान्त काठमाडौंकै खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताले खेल मात्रै नभएर सामाजिक सद्भाव र भाइचाराको वातावरण समेत मजबुद पार्ने लक्ष्य लिइएको काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले बताए ।
    काठमाडौंमा हालसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
    कुल ३६ लाख रुपैयाँ बजेट रहेको प्रतियोगितामा काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ र काठमाडौं जिल्ला ब्याडमिन्टन संघले ६ लाख रुपैयाँ व्यहोर्नेछन्।
    प्रतियोगिताको मुख्य उद्देश्य वडा तहबाट ब्याडमिन्टन खेलको विकास, स्वस्थ जीवनशैलीको प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
    प्रतियोगिता खुला (ओपन) विधामा सञ्चालन गरिने भएकाले सबै उमेर समूहका नागरिकले सहभागिता जनाउन सक्नेछन्।

    प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिश्रित युगल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। प्रत्येक वडाले दुई पुरुष र दुई महिला खेलाडी मनोनयन गर्नेछन्। एक खेलाडीले एक विधामा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।
    लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक खेल ‘बेस्ट अफ थ्री ’ का आधारमा हुनेछ । जहाँ प्रत्येक सेट १५ अंकको रहनेछ।
    प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ विजेताले ३२ हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ पाउने छन् भने तेस्रो हुने दुबै खेलाडीले १०– १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
    क्वार्टरफाइनलसम्म पुग्ने खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्। उनीहरुले २५ सयका दरले पाउनेछन् ।
    यस्तै मिश्रित युगलतर्फ विजेता टोलीले ४० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो हुने दुई टोलीले जनही १६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा पनि क्वार्टरफाइनलसम्म पुग्ने टोलीसबैलाई ४–४ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
    प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ८२ हजार रुपैयाँ रहेको छ। व्यक्तिगत विधाका पुरस्कारका अतिरिक्त समग्र उत्कृष्ट प्रदर्शन गर्ने वडालाई ‘विजेता वडा ट्रफी’ प्रदान गरिनेछ।
    पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले काठमाडौँबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । उनले पहिलो संस्करण काठमाडौं महानगर कप स्वस्थ जीवनशैलीको प्रवद्र्धन, लुकेका प्रतिभाको पहिचान तथा काठमाडौंभर समावेशी खेल संस्कृतिको विकास गर्ने अभियान भएको बताए।
    काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नभई आपसी सद्भाव र सदाचार हेरेफेर गर्ने माध्यम प्रतियोगिता बन्ने विश्वास गरे ।
    ३२ वटै वडाबाट खेल प्रतिभाको पहिचान, विकास र सम्मान गर्दै आधारभूत तहमा ब्याडमिन्टनको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar