आरुघाटमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी लाभान्वित

  • कालिका खवर
  • आइतवार, जेष्ठ १०, २०८३
  • गोरखा । क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा तथा एभरेष्ट बैंक लिमिटेड र आरुघाट गाउँपालिकाको सहकार्यमा गोरखाको आरुघाट गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालय, मान्बुमा दुई दिने मुटु, मिर्गौला, कलेजोलगायत एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

    शिविरमा आरुघाट गाउँपालिका वडा नं. १, २ र ३ का ६ सयभन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए। दुई दिने शिविरमा ११० जनाको मुटुको इको परीक्षण तथा २५० जनाको भिडियो एक्स–रे गरिएको आयोजकले जनाएको छ। साथै, युरिन परीक्षण, मिर्गौला परीक्षणलगायतका विभिन्न स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो। परीक्षणका आधारमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

    मुटुरोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूमा मुटु तथा मिर्गौलासम्बन्धी समस्या उल्लेख्य रूपमा देखिने गरेको छ। उहाँले शिविरमा परीक्षणका लागि आएका धेरै व्यक्तिमा उच्च रक्तचापका कारण मुटु तथा मिर्गौलासम्बन्धी समस्या देखिएको जानकारी दिनुभयो। उहाँले ग्रामीण स्तरबाटै मुटुरोग पहिचानका लागि नियमित स्वास्थ्य परीक्षण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    त्यस्तै, रेडियोलोजिस्ट विज्ञ डा. जी एलिनले ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो। शिविरमा सहभागी डा. गौरव पन्त, डा. लोचन श्रेष्ठ, विवेक डंगोल र ब्रिजेश यादवलगायत स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरमा सहभागी भई सेवा गर्ने प्रतिबद्धता जनाएका थिए।

    शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यक्रम संयोजक डा. गौरव पन्तले स्वास्थ्य शिविर सञ्चालनको अवसर प्रदान गरेकोमा क्यान्सर काउन्सिल नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो।

    क्यान्सर काउन्सिल नेपालकी अध्यक्ष श्री रुद्रलाल कडरियाले ग्रामीण क्षेत्रमा सञ्चालन गरिने यस्ता स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने बताउनुभयो। कार्यक्रम संयोजक दिनेश ढकालले स्वास्थ्य सेवा जस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आयोजक संस्था र स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्दै ग्रामीण क्षेत्रमा यस्ता सेवामूलक कार्यक्रम अझ बढी सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विद्यालयका प्रधानाध्यापक काजीराम कार्की, शिक्षकहरू, स्वयंसेवक विद्यार्थीहरू तथा स्थानीय सहयोगीहरूको योगदानको समेत प्रशंसा गर्नुभयो।

    विद्यालयका कृषि प्रशिक्षक तथा र्‍यापर उत्तम रोस्यारा ‘एटम सोल’ ले विद्यालयमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा अत्यन्तै खुसी लागेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवा, एकता र सहयोगको भावना विकास गराउने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा समय–समयमा स्वास्थ्य परीक्षण गराउने चेतना बढ्दै गएको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    त्यस्तै, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रकी मानव अङ्ग प्रत्यारोपण कोर्डिनेटर सरु कोजूले अङ्गदानको महत्त्वबारे प्रकाश पार्दै यस अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो। उहाँले केन्द्रले मानव अङ्ग प्रत्यारोपण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar