सातामा एक दिन न्यौपानेगाउँमै दाँतको उपचार सेवा दिने कि ? बज्रबाराहीमा पनि हुन्छ है दाँतको उपचार

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • ललितपुर (न्यौपानेगाउँ) – गोदावरी नगरपालिका वडा नम्बर १० मा दन्त सुरक्षा सम्बन्धि चेतना पुगेपनि दाँत सम्बनिध उपचारका लागि टाढा जानुपर्ने गुनासो उनीहरुले गरेका छन् । धेरै जसो जेष्ठ नागरिकका दाँत किराले खाने र ती दाँत निकाल्नुपर्ने भएपनि नजिकैको स्वास्थ्य चौकीमा दन्त स्वास्थ्य सेवा नहुँदा समस्या परेको उनीहरुले गुनासो गरेका छन् ।

    १० नम्बर वडा कार्यालयले चापागाउँ स्वास्थ्य चौकी न्यौपानेगाउँमा आयोजना गरेको एक दिने निशुल्क दन्त शिविरमा आएका विरामीहरुले कम्तिमा हप्तामा १ दिन भएपनि यही स्वास्थ्य चौकीमा दाँत सम्बन्धी उपचारको लागि सेवा क्लिीनीक संचालन हुनुपर्ने बताए । उपचारका लागि आएकी रेनु आचार्यले स्वास्थ्य चौकीमा सातामा एकदिन दातको उपचार गर्ने शिविर संचालन भए, उपचारका लागि टाढासम्म धाउनुनपर्ने बताउनुभयो ।

    सोमबार सो स्वास्थ्य चौकीमा अनुभवी डेन्टल सर्जन डा रवीना खड्गी र डेन्टल हाइजेनिष्ट रेश्मा राईले सेवा लिन आएकाहरुको दाँत सम्बन्धि सम्पूर्ण समस्याको पहिचान, उपचारको उपाय र आवश्यक परे बज्रबाराही अस्पतालमा आउन पनि भन्नुभएको थियो ।

    दन्त रोग विशेषज्ञ डा रवीना खड्गीले एक दिने शिविरमा विशेषगरी दाँत किराले खाएको समस्या लिएर धैरै विरामी आएको बताउनुभयो । उहाँका अनुसार कति जेष्ठ नागरिकहरुको त दाँत किराले खाएर ठूटाहरु मात्र गिजाँमा रहेको पाइएको थियो । दातको प्रारंभिक उपचार गरेकाहरुलाई थप उपचारका लागि बज्रबाराही अस्पताल आउन रेफर गरिएको छ ।

    दाँतको उपचारमा आएका धेरै जसोलाई आफ्नो दातको अवस्थाबारे चिन्ता रहेको कतिलाई बज्रबाराही अस्पतालमा दाँतको राम्रो उपचार सेवा रहेको बारे जानकारी नै नरहेको पाइएको छ । बेलैमा दाँतको उपचार नभएमा धेरै महङ्गो शूल्क र झन्झट बेहोर्नुपर्ने डेन्टल हाइजेनिष्ट रेश्मा राईले बताउनुभयो । उहाँले बेलैमा यसमा ध्यान नदिए कालान्तरमा ठूलो समस्या ल्याउने बताउनुभयो ।

    एक दिने दन्त शिविरमा ७५ जनाले सेवा लिएको चापागाउँ स्वास्थ्य चौकी न्यौपानेगाउँका प्रमुख सुनिल कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार सेवा लिनेमा ४९ जना महिला र २६ जना पुरुष रहेका छन् । उपचार सेवा लिनेमा साढे २ वर्षको नावालकदेखी ७५ वर्ष माथिका जेष्ठ नागरिकसम्म रहेका थिए । दाँतको उपचार महङ्गो भएकाले स्थानीय तहले यसमा विचार गर्नुपर्ने सुझाव पनि दिएका थिए । शिविरमा दाँत सफा गर्ने र बिरामीलाई दन्त स्वास्थ्यबारे परामर्श दिने काम पनि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar