किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ।

    अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको छ।

    स्थापनादेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचारमा जोड दिँदै आएको सेन्टरले अनुभवी चिकित्सक र प्राविधिक टोलीको सहयोगमा राम्रो नतिजा हासिल गरेको जनाएको छ।

    सेन्टरमा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ। दाताको स्वास्थ्य सुनिश्चित गर्न विस्तृत परीक्षण गरिनुका साथै शल्यक्रियापछि पनि नियमित निगरानी गरिने अस्पतालले जनाएको छ।

    त्यसैगरी, ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीहरूलाई पनि प्रत्यारोपणको अवसर दिइँदै आएको छ। यस विधिमा दुई बिरामी–दाता समूहबीच आपसी मिलान गरी मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ।

    ल्यापारोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाले दातालाई कम पीडा, कम रक्तस्राव र छिटो निको हुने सुविधा दिएको छ।

    सेन्टरले गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा अझ धेरै बिरामीलाई सेवा दिने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar