टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ

  • कालिका खवर
  • आइतवार, बैशाख ६, २०८३
  • मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाख रुपैयाँका टुक्रे योजनाहरूले प्रदेशलाई आर्थिक बोझ मात्र थपेको बताएका छन् । उनले साना र टुक्रे योजनाको कार्यान्वयनको विगतको अवस्थाले प्रतिफल शून्य देखाएको उनले बताए । आइतबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री तामाङले प्रदेशको विकासका लागि वितरणमुखी नभई प्रतिफलमुखी बजेट आवश्यक रहेकोमा जोड दिए ।

    मन्त्री तामाङले आर्थिक कार्यविधि ऐन २०७४ को अधिकार प्रयोग गरी बजेट परिमार्जन गरिएको उनको भनाई छ । उनका अनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माण र सिर्जना भएका पूँजीगत दायित्वहरू भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न १० देखि ५० प्रतिशत सम्म बजेट कटौती गर्नुपरेको उनले बताए।

    मन्त्री तामाङले ३७ वटा बजेट शीर्षक मध्ये २० वटामा प्राविधिक एवम् इन्ट्री त्रुटि भएको उनले स्वीकार गरे । मन्त्री तामाङले प्रदेशमा १० लाख मुनिका योजनाहरूको सङ्ख्या १ हजार ४०० भन्दा बढी रहेको र तिनले ५४ अर्बको दायित्व सिर्जना गरेको बताए। टुक्रे बजेटले प्रतिफल नदिने भएकाले १० लाख मुनिका १० अर्ब बराबरका योजनाहरू खारेज गरेर प्रत्येक जिल्लामा १–१ अर्बका ठुला आयोजना चलाउनुपर्ने उनको भनाई छ ।

    ‘१ लाख रुपैयाँ काट्नुपर्ने ठाउँमा कर्मचारीबाट १०० लाई १००० इन्ट्री हुँदा १० लाख नै काटिन पुगेको देखियो । मन्त्रीको हैसियतले यसको जिम्मा म लिन्छु र यस्ता त्रुटिहरू सच्याइनेछ ।’ उनले भने, ‘एउटा खानेपानी योजना सक्न ६ करोड लाग्छ तर हामी वर्षको १० लाख मात्र हाल्छौँ । यसरी त योजना सक्न १०० वर्ष लाग्छ।’

    मन्त्री तामाङले प्रदेश सरकारको खर्च न्यूनीकरण गर्न प्रशासनिक पुनर्संरचनाको प्रतिवेदन तयार भइसकेको बताए । मन्त्रालयको सङ्ख्या घटाउने, सेवा केन्द्रहरू परिमार्जन गर्ने र कर्मचारी कटौती गरी प्रशासनिक बोझ कम गर्ने योजना यसै हप्ता सार्वजनिक गरिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar