बारा हत्याकाण्ड : फ्याक्ट्री मेनेजरका छोराको विभत्स हत्या, १६ घण्टामै दुई अभियुक्त पक्राउ

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • बारा, १४ मंसिर। जिल्ला प्रहरी कार्यालय, बाराले प्रसौनी गाउँपालिका–६ भलुही चोकमा घटेको राम किशोर सिंह हत्याकाण्डमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। मंसिर ११ गते बेलुका करिब ८:२५ बजे Kiran Beverage Nepal Pvt. Ltd. (पानी फ्याक्ट्री) नजिकै फालिएको अवस्थामा राम किशोर सिंहको शव फेला परेको थियो। सिंह सर्लाही धनकौल–२का बासिन्दा तथा सोही फ्याक्ट्रीका मेनेजर नरसिंह सिंहका छोरा थिए।

    हत्या कसरी भयो ?

    प्रहरीका अनुसार फ्याक्ट्रीमा चालकका रूपमा काम गर्दै आएका पर्सा, वीरगञ्ज–२२ मनियारीका वर्ष २१ का राजन कुमार रामलाई मृतक सिंहले अनियमित बिक्रीको कारण केही दिनअघि कामबाट हटाएका थिए। उनले फ्याक्ट्रीले तोकेको मूल्य रु. ११० को पानीलाई व्यक्तिगत लाभका लागि रु. ११५–१२० मा बेच्दै आएको खुलेपछि १० गते उनीलाई हटाइएको थियो।

    साथै, गत गढीमाई मेलाका बेला गाडीको कलच प्लेट जलाएको विषयमा पनि उनीहरूबीच विवाद रहेको प्रहरीले जनाएको छ। कामबाट हटाइएकै दिन सिंहले राजनको हिसाब–किताब फर्छ्योट गरिदिएका थिए। यिनै रिसइबीको कारण राजन कुमार राम र उनको साथी वर्ष ३२ का प्रमोद साह तुरहाले वीरगञ्जमै बसेर मदिरा सेवन गर्दै हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

    मंसिर ११ गते राति करिब ८:२५ बजे दुवैले फ्याक्ट्री पुगेर साथमा ल्याएका धारिलो हतियार (छुरा) तथा इँटको प्रयोग गरी सिंहको विभत्स रूपमा हत्या गरी शव खाल्डोमा फालेको प्रहरीले जनाएको छ।

    १६ घण्टामै दुवै अभियुक्त पक्राउ

    मंसिर १२ गते बिहान ७:५७ बजे सूचना प्राप्त लगत्तै बारा प्रहरीले तत्काल घटनास्थल पुगेको थियो। फरार अभियुक्तहरूलाई पक्राउ गर्न बारा–पर्सा दुवै जिल्ला प्रहरीको समन्वयमा खोजतलास सञ्चालन गरिएको थियो।

    पर्साको छिपहरमाई–५ भिस्वा नाकाबाट भारत भाग्दै गरेका राजन कुमार रामलाई प्रहरीले पक्राउ गर्दा प्रमोद साह तुरहा वीरगञ्ज महानगरपालिका–२२ मा लुकेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइयो। घटनापछि करिब १६ घण्टा भित्रै दुवै अभियुक्त पक्राउ परेका हुन्।

    पक्राउ परेकाहरू

    1. राजन कुमार राम (२१ वर्ष) – मनियारी, वीरगञ्ज–२२

    2. प्रमोद साह तुरहा (३२ वर्ष) – ठेगाना नखुलेको (आदेश लाल साहका छोरा)

    बरामद वस्तु

    रगत लागेको फलामको छुरा – १ थान

    रगत लागेको इँटा – १ थान

    दुवै अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको छ र थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar