सशस्त्र प्रहरी बल पर्साद्वारा रु १७ लाखभन्दा बढी मूल्यका अबैध सामग्री, मो.सा. तथा पशुचौपाया बरामद

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • पर्सा, ३० कात्तिक। सीमावर्ती क्षेत्रमा हुने अबैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय कडा कारवाही अभियान चलाइरहेको छ। यही क्रममा पर्सा जिल्लामा तैनाथ सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूले एकै दिनमा करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अबैध सामान, मो.सा. तथा पशुचौपाया नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ।

    विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, बीओपी महादेवपट्टीबाट खटिएको टोलीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, बलुवा स्थित मुस्तुफा मियाको घरमा भारतबाट अबैध रूपमा भन्सार छली लुकाइ–छिपाइ ल्याइएका मोबाइलहरू बरामद गरेको हो।

    टोलीले घरभित्र छापा मार्दा १५ कार्टुनमा राखिएका ४५० थान ‘लाभा किप्याड’ मोबाइल बरामद गरेको छ, जसको बजार मूल्य करिब रु. ९,००,००० बराबर पर्दछ। बरामद गरिएका सबै मोबाइलहरू आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

    त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–२, भगुवा क्षेत्रमा कारवाही गरेको छ।

    भारतबाट भन्सार छली ल्याइएका विभिन्न कपडा तथा किराना सामानहरू BR 29 T 9411 नम्बरको मोटरसाइकलमा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

    उक्त सामानहरूको मूल्य रु. ३,८०,४२० बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै सो कार्यमा प्रयोग गरिएको मोटरसाइकलसमेत रु. १,००,००० मूल्यांकनसहित नियन्त्रणमा लिइएको छ। यी सबै सामग्रीहरू पनि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

    यसैबीच, नं.१३ गण मातहतको प्र.सी.सु. गुल्म, वीरगञ्जबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित सीमाक्षेत्रबाट अबैध रूपमा ल्याइएका कपडा, किराना सामान तथा पशुचौपाया नियन्त्रणमा लिएको छ।

    उक्त सामानहरूको कुल मूल्य रु. ३,२१,४२० बराबर पर्ने बताइएको छ।

    यस्तै, गुल्म अलौबाट खटिएको अर्को टोलीले बिन्दवासिनी गाउँपालिका–५, झौवा क्षेत्रबाट भारतबाट ल्याइएका रु. ११,००० मूल्य बराबरका तोरी (तेलका बिउ) नियन्त्रणमा लिएको छ। बरामद गरिएको तोरी पनि आवश्यक कारवाहीका लागि भन्सारमा बुझाइएको छ।

    सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा दिनहुँजसो भन्सार छली तथा अबैध तस्करीका गतिविधि बढिरहेको अवस्थामा नियमित गस्ती, विशेष सूचनाका आधारमा निरीक्षण तथा आकस्मिक कारवाही जस्ता गतिविधि प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ।

    सशस्त्र प्रहरीको तिव्र सक्रियता र अनुशासित प्रहरी दस्ता तैनाथ भएकै कारण पर्सा जिल्लामा तस्करीजन्य अपराधहरू निकै हदसम्म नियन्त्रणमा आएको स्थानीय बासिन्दाहरूको भनाइ छ।

    सीमाक्षेत्र अत्यधिक खुला र संवेदनशील भएकाले भारत–नेपालबाट हुने अवैध सामान ओसार–पसार नियन्त्रण गर्नु ठूलो चुनौती भए पनि सशस्त्र प्रहरी बलले आफ्नो पेशागत दक्षता, प्रतिबद्धता र जोखिमपूर्ण भूमिकामार्फत निरन्तर रूपमा कारवाही गरिरहेको अधिकारीहरूको भनाइ छ।

    बरामद भएका सबै सामग्री भन्सारमा बुझाइएपछि त्यसको आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने भन्सार कार्यालयले जनाएको छ।

    कानून विपरीत अबैध सामग्री ल्याउने तथा तस्करीमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानुनी कारवाही हुने पनि जनाइएको छ।

    सशस्त्र प्रहरी बलले सार्वजनिक सुरक्षासँगै राजश्व संरक्षणलाई आफ्नो प्रमुख दायित्व मानेर काम गर्दै आएको छ। तस्करीका कारण मुलुकले वार्षिक रूपमा ठूलो मात्रामा राजश्व गुमाइरहेको अवस्थामा त्यस्ता अपराध रोकथाममा सशस्त्र प्रहरीले देखाएको सतर्कता सराहनीय मानिएको छ।

    यसरी एकै दिनमा विभिन्न स्थानमा सफल अपरेशन संचालन गरी ठूलो मात्रामा अबैध सामान नियन्त्रणमा लिनु सशस्त्र प्रहरी बलका जवानहरूको प्रतिबद्धता र दक्षताको प्रमाण हो।

    सीमामा कडाइ बढेपछि तस्करहरूको गतिविधि घट्दै गएको पनि अधिकारीहरूले बताएका छन्।

    सशस्त्र प्रहरी बलका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनका अनुसार सीमामा हुने तस्करी तथा गैरकानुनी गतिविधि रोकथाममा प्रहरी सदैव तत्पर छ।

    “हामीले प्राप्त सूचनाका आधारमा तत्काल कारवाही गर्ने, अपराध रोक्ने र खुला सीमा व्यवस्थापनलाई सुरक्षित बनाउन निरन्तर गस्ती तथा अनुगमन गरिरहेका छौं,” उनले भने।

    उनका अनुसार जनताको सुरक्षाका लागि मात्र नभई राष्ट्रिय अर्थतन्त्र जोगाउन पनि सशस्त्र प्रहरी बल गम्भीर रूपमा अग्रसर रहेको छ।

    सिमानामा भइरहेको यस्तो प्रभावकारी कार्यले स्थानीय समुदायमा पनि सुरक्षाप्रतिको विश्वास बढाएको देखिन्छ।

    पर्सा जिल्लामा पछिल्लो समय तस्करीजन्य अपराधहरू बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी अझ कडा बनाएको जनाइएको छ।

    आगामी दिनमा पनि यस्ता कारवाही अझ तीव्र बनाउने सूचना अधिकारी योन्जनले बताए।

    सशस्त्र प्रहरी बल नेपालको निरन्तर चनाखो गस्ती, सत्यनिष्ठा र कर्तव्यनिष्ठाका कारण सीमावर्ती क्षेत्रहरूमा अबैध व्यापार तथा तस्करीका गतिविधि नियन्त्रणमा आउन थालेको उल्लेखनीय तथ्य हो।

    यसले सुरक्षा निकायप्रति नागरिकको भरोसा झनै मजबुत बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar