‘उत्कृष्ट कृषि पत्रकार २०८२’बाट निराज रानाभाट सम्मानित

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • ललितपुर । वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसूदन पौडेलले सक्रिय पत्रकार निराज रानाभाटलाई ‘उत्कृष्ट कृषि पत्रकार २०८२’ सम्मान प्रदान गरेका छन्। ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २८औं स्थापना दिवस तथा रजत जयन्तीको विशेष समारोहमा रानाभाटलाई सम्मानित गरिएको हो।

    कृषकका समस्या, दुग्ध क्षेत्रका चुनौती र विकासका मुद्दालाई निरन्तर आफ्नो कलममार्फत उठाउँदै आएका पत्रकार रानाभाटलाई संघले किसानको पक्षमा गरेको निरन्तर योगदानप्रति कदर गर्दै शनिबार सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले टीका, दोसल्ला, नगद तथा सम्मान–पत्र प्रदान गर्दै रानाभाटको कृषि पत्रकारितामा देखिएको समर्पण प्रशंसनीय रहेको बताए।

    सम्मान ग्रहण गर्दै निराज रानाभाटले किसान र कृषि क्षेत्रका प्रत्येक आवाजलाई सरकारी निकाय तथा सार्वजनिक तहमा पुर्‍याउन आफू निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाए। उनले ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मानका लागि धन्यवाद व्यक्त गरे।
    पत्रकार रानाभाट विगत एक दशकदेखि कृषि, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनलगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका अनुभवी पत्रकार हुन्। जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि.द्वारा सञ्चालित ‘जन अपडेट डटकम’का प्रबन्ध निर्देशक तथा सम्पादकसमेत रहेका उनी पछिल्ला वर्षहरूमा विशेषगरी कृषि क्षेत्रकै मुद्दामा केन्द्रित हुँदै आएका छन्।

    उनका लेख तथा समाचारहरू कृषि पत्रिका, भिजन न्युज नेपाल, समाचार कुञ्ज डट कम, फरक दृष्टि, सगरमाथा पाना डट कम, द न्युज शोरु डट कम, लाइफ खबर डट कम, राज्यदैनिक डट कमलगायतका थुप्रै मिडियामा प्रकाशित हुने गरेका छन्। लमजुङमा जन्मिएका रानाभाट चितवनको भरतपुरमा बस्दै आएका थिए भने हाल ललितपुरमा बसोबास गर्दै कृषि पत्रकारितालाई निरन्तर अघि बढाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar