कांग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैन : बद्री अर्याल

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता बद्री अर्यालले विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताएका हुन् । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबिचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रीय समिति बैठकमा संस्थापन र इतर समूहले अलग–अलग महाधिवेशनको कार्यतालिका पेश गरेका छन् ।

    नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको बताए । पार्टीमा पुस्तान्तरण हुनुपर्ने उनको भनाई छ । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय पङ्क्तिमा मात्र फेरबदल हुने तर प्रदेश र स्थानीय तहमा कुनै बदलाव नहुने भएकाले विशेष महाधिवेशन अहिले समय सान्दर्भिक नहुने नेता अर्यालले बताए ।

    उनले भने,‘पार्टीमा विशेष अधिवेशनको एउटा प्रस्ताव दर्ता भयो । विशेष अधिवेशन केका लागि दर्ता भयो भने त्यसको कुनै सिंह पुच्छर छैन, विधानले दर्ता गर्न पाइन्छ भनेको छ । तर दर्ता गर्ने आधार त्यसको उपलब्धि के हो, नतिजा के आउँछ, विशेष अधिवेशन भएपछि के हुन्छ भन्ने पटक पटक साथीहरूले त्यही १४ सालमा भएको थियो नि भन्ने कुरो भन्दा केही पनि आएन । त्यही भएर विशेष अधिवेशन अहिले समय सान्दर्भिक छैन । नेपाली काँग्रेस पार्टीका लागि विशेष अधिवेशन सरासर धोका हो ।’

    विशेष महाधिवेशनमा केन्द्रीय नेतृत्व मात्र परिवर्तन हुने भएकाले नियमित महाधिवेशन नै अहिलेको समयमा उपयुक्त रहेको कांग्रेसका कार्यकर्ता विनोद तिम्सिनाले बताए । पार्टीमा नयाँ पुस्ताको नेतृत्वको खाँचो रहेको उनको भनाई छ । उनले भने,‘विशेष महाधिवेशनले चाहिँ केन्द्रीय नेतृत्व मात्र परिवर्तन गर्ने भएकाले केन्द्रीय महाधिवेशन अहिले मौजुदा महाधिवेशन प्रतिनिधिबाटै केन्द्रीय नेतृत्व चयन हुने हुँदा त्यहाँ न नयाँ पुस्ताको प्रवेश हुन्छ, पुरानो पुस्ताको नेतृत्व मात्रै आउने भएकाले नियमित नै महाधिवेशन गर्नुपर्छ त्यो गर्दा चाहिँ मुलुकको लागि र कांग्रेसको लागि राम्रो हुन्छ भन्ने लाग्छ ।’

    विशेष महाधिवेशनको प्रस्तावपछि नेपाली कांग्रेसभित्र फेरि एक पटक विचार र रणनीतिक विभाजन सतहमा आएको छ । कतिपय नेताहरूले विशेष महाधिवेशनलाई संस्थापन नेतृत्वमाथिको असन्तुष्टि व्यक्त गर्ने माध्यमका रूपमा हेरेका छन् भने केहीले यसलाई नेतृत्व हस्तान्तरण र सङ्गठन पुनः निर्माणको अवसरका रूपमा चित्रण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar