शसस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीको छापामारी : करोडौंको सुन, चाँदी बरामद।

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • पर्सा, असोज २७। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दै ठुलो परिमाणमा सुन, चाँदी र नगद रकम बरामद गरेको छ।

    मिति २०८२ असोज २७ गते उक्त घरमा अबैध रूपमा भन्सार छलि गरेर ल्याई गोदाममा राखिएको सुन तथा चाँदी रहेको भन्ने विशेष सूचनाको आधारमा संयुक्त टोली खटिएको थियो। छापा मार्ने क्रममा सुन २,२५४.८६ ग्राम, चाँदी १०,३५४.०७ ग्राम, सुनजस्तो देखिने ५५९.१० ग्राम, चाँदीजस्तो देखिने ५५० ग्राम र नगद नेपाली रुपैयाँ १,०९,००० र भारतीय रुपैयाँ ४१,०६० बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

    बरामद गरिएको सम्पत्ति सुन चाँदी व्यवसायी संघ पर्सामा लगेर मापन तथा परीक्षण गरिएको थियो। त्यसपछि आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि सम्पूर्ण बरामद वस्तु तथा रकम राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाइएको छ।

    सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले सीमावर्ती क्षेत्रमा अबैध सुन चाँदी कारोबार र भन्सार छल्ने गतिविधिबिरुद्ध सशस्त्र प्रहरी बल सतर्क रहेको र यस्ता कारबाही निरन्तर रूपमा जारी रहने जानकारी दिनुभयो।

    यस घटनाले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध सुन–चाँदी कारोबारमाथि पुनः प्रश्न उठाएको छ भने, सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar