वीरगञ्जमा जसपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढीकरण र रणनीति निर्माणमा जोड

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • वीरगञ्ज — जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला समितिको आयोजनामा आज वीरगञ्जको टाउन हलमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र जनसेवामुखी कार्यदिशाका विषयमा केन्द्रित भेला पार्टीको सांगठनिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

    भेलाको प्रमुख अतिथि तथा जसपाका केन्द्रीय उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले पार्टी संगठनलाई बलियो बनाउने, जनतासँगको सम्बन्ध सुदृढ पार्ने र अनुशासनमा रहन कार्यकर्तालाई आग्रह गरे। उनले राजनीतिक रूपान्तरण र समावेशी नीतिमा जसपाको भूमिका निर्णायक हुने भन्दै कार्यकर्ताहरूलाई आगामी कार्यक्रमहरूमा सक्रिय सहभागिताको आह्वान गरे।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरुषोत्तम झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अन्सारी, सलमा खातुन, मधु माया यादव लगायत नेताहरूको उपस्थिति थियो।

    जसपा पर्सा जिल्ला अध्यक्ष सिंहासन साह तेलीको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीयस्तरमा संगठन सुदृढीकरण, युवा परिचालन, जनसेवा अभियान र नीति निर्माणको विषयमा गम्भीर छलफल भएको थियो। अध्यक्ष तेलीले स्वागत मन्तव्य दिँदै जनताको समस्यालाई नजिकबाट बुझी समाधान गर्ने खालका नीतिहरूमा जसपाको प्रतिबद्धता दोहोर्‍याए।

    भेलामा सहभागी कार्यकर्ताहरूले पार्टीप्रतिको विश्वास दोहोर्‍याउँदै आगामी निर्वाचन र राजनीतिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीले यो भेलालाई पर्सा जिल्लामा आफ्नो राजनीतिक पकड मजबुत बनाउन रणनीतिक प्रयासको रूपमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar