५ घण्टादेखि एमाले र एकीकृत समाजवादीको बैठक जारी

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था र पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बसेको नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक झण्डै ५ घण्टादेखि जारी छ । एमाले सचिवालय बैठक अध्यक्ष ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बसिरहेको छ भने एकीकृत समाजवादीको काठमाडौँको एक होटलमा बसिरहेको छ ।

    शुक्रबारबाट सुरु भएको दुवै पार्टीको बैठकमा पार्टी रूपान्तरण र पुनर्गठनका विषयमा छलफल भइरहेको छ । एमालेभित्र बहुमत पदाधिकारीले अध्यक्ष ओलीको राजीनामा माग्दै महाधिवेशन गर्न मागेका छन् । जेनजी आन्दोलनका क्रममा भएको कमजोरी र पार्टी पुनर्गठनका सवालमा समेत गम्भीर छलफल सुरु भएको एमालेका १९ पदाधिकारीमध्ये पहिलो दिन ९ पदाधिकारीले धारणा राखेका थिए । जसमा ६ जनाले ओलीलाई मार्गप्रशस्त गर्न वा राजीनामा दिन सुझाव दिएका थिए ।

    आजको बैठकमा बोल्ने अधिकांश पदाधिकारीले पनि ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिँदै पार्टी रूपान्तरण गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ । एमाले सचिवालय बैठकले सदस्यहरूको माग अनुसार महाधिवेशनको मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ । सचिवालयको प्रस्ताव असोज २९ गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताइएको छ । उता नेकपा एकीकृत समाजवादीको बैठकमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको नेताहरूले बताएका छन् । समाजवादी मोर्चामा रहेका चार दलबिच पार्टी एकता गर्ने गरी ती दलबिच पछिल्लो समय छलफलहरू भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar