३० जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौँ । देशका प्रमुख ठूला नदीहरूमा जलसतह नियन्त्रणमा रहे पनि ३० जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै छ।

    तर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। त्यसैगरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका स-साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

    आउँदो दुई दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ। भदौ ३ र ४ गते ती प्रदेश भई बहने खोला तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar