सशस्त्र प्रहरीको कडा निगरानीमा ठोरीमा ठूलो परिमाणमा लागूऔषध नियन्त्रण

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • पर्सा। सिमावर्ती क्षेत्रमा भइरहेको लागूऔषध तस्करीविरुद्ध सशस्त्र प्रहरी बल नेपालले कडाइ बढाएसँगै पर्सामा ठूलो परिमाणको गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले ठोरी गाउँपालिका–४, निर्मल बस्ती नजिकैबाट ९१ केजी प्रतिबन्धित गाँजा नियन्त्रणमा लिएको हो।

    मंसिर २५ गते बेलुका नियमित गस्तीमा रहेको सीमा सुरक्षा गुल्म हे.क्वा. सुवर्णपुरको टोलीले नेपालबाट भारततर्फ भारी बोकेर जाँदै गरेका करिब ९–१० जनालाई देखेपछि उनीहरूले बोकेका पोका फालेर फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

    टोलिले तत्काल घटनास्थल नियन्त्रणमा लिएर १० वटा प्लास्टिकका पोका जाँच गर्दा गाँजा रहेको पुष्टि भएको थियो। बरामद गाँजाको तौल ९१ केजी नापिएको सशस्त्र प्रहरीले जनाएको छ।

    पछिल्लो समयमा ठोरी क्षेत्र हुँदै लागूऔषध तस्करी बढेको भन्दै प्रहरीले निगरानी कडाइ गर्दै आएको छ। सीमामै रहेका जंगल, खोला तथा साँघुरा बाटोमार्फत तस्करी हुनेक्रम बढेपछि दैनिक गस्ती, विशेष अनुगमन तथा सूचनाको आधारमा परिचालन हुने टोलीलाई सक्रिय बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।

    घटनापछि फरार व्यक्तिहरूको खोजी भइरहेको र तस्करीमा संलग्न समूहबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गाँजा आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ।

    सशस्त्र प्रहरी बल पर्साका अनुसार सामाजिक रूपमा लागूऔषधले पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखी जिल्ला भरि नियन्त्रण तथा निगरानीमा तीव्रता ल्याइएको छ। सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई पनि तस्करी सम्बन्धी सूचनाका लागि सहयोग गर्न अनुरोध गरिएको छ।

    प्रहरी स्रोतका अनुसार भारतीय बजारमा बेचबिखन गर्न लैजाने उद्देश्यले तस्करहरूले यहा‍ँका दुर्गम तथा कम भीडभाड भएका बाटो प्रयोग गर्दै आएका छन्। बरामद गरिएको मात्रा भारतीय बजारमा पुगेमा मूल्य लाखौँदेखि करोडसम्म पुग्ने अनुमान छ।

    सशस्त्र प्रहरीको निरन्तर सक्रियता र सूचनाको प्रभावकारी उपयोगका कारण हालै यस्ता घटनामा कमी आएको भए पनि केही समूह अझै पनि सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।

    घटनाबारे स्थानीय प्रशासन, नेपाल–भारत सुरक्षाकर्मी र अन्य निकायबीच समन्वय गरी तस्करी चक्रको मूल संरचना पहिचान गर्न कदम चालिएको प्रहरीका अधिकारीहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar