सीमाक्षेत्रलाई हराभरा र स्वच्छ बनाउने लक्ष्यसहित मितेरीपुल परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • पर्सा। बीरगंज–रक्सौल सीमाक्षेत्रलाई हराभरा, स्वच्छ, सुरक्षित र पर्यटकीय रुपमा आकर्षक बनाउने दीर्घ रणनीतिक योजनाअन्तर्गत आज मितेरीपुल परिसरमा एक वृहत् वृक्षारोपण अभियान सम्पन्न गरिएको छ। बीरगंज महानगरपालिकाको मुख्य आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त पहलमा सम्पन्न यो कार्यक्रम सीमाक्षेत्रको वातावरणीय रूपान्तरणतर्फको ऐतिहासिक कदम मानिएको छ।

    कार्यक्रमको मूल उद्देश्य सीमाक्षेत्रमा बढ्दो धूलो–धुँवा नियन्त्रण, वातावरण संरक्षण, हरियाली विस्तार, जैविक विविधता संरक्षण तथा दिगो शहरी सौन्दर्यकरणलाई मूर्तरुप दिनु थियो। यस अभियानले आगामी वर्षहरूमा सीमाक्षेत्रलाई आधुनिक, हराभरा र स्वस्थ वातावरण सम्पन्न रूपमै पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ।

    अध्यक्ष जयप्रकाश खेतान, जो यस अभियानका मुख्य प्रेरक तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अगुवामध्ये एक हुन्, उनले कार्यक्रमलाई सम्बोधन गर्दै बीरगंज महानगरको दीर्घकालीन वातावरणीय योजना वृक्षारोपणबाट सुरु भएको स्पष्ट पारे। उनका अनुसार, “हरियाली केवल शहरको सौन्दर्य बढाउने विषय मात्र होइन, यो हाम्रो स्वास्थ्य, वातावरण र भविष्यसँग सरासर जोडिएको अभियान हो। दीगो विकासको आधार नै स्वच्छ वातावरण हो, त्यसैले सीमाक्षेत्रलाई स्वच्छ राख्नु महानगरको प्राथमिकता हो।”

    उनले अझ थपे, “महानगर, सुरक्षा निकाय, स्वयंसेवी संस्था, नागरिक समाज र स्थानीयबासी सबै मिले मात्र दिगो वातावरण निर्माण सम्भव हुन्छ। आजको यो वृक्षारोपण हाम्रा भावी पुस्ताका लागि उपहार हो।”

    कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक उपस्थित थिए। उनले सीमाक्षेत्रलाई हराभरा र सुरक्षित बनाउन प्रहरी संगठन सदैव प्रतिवद्ध रहेको उल्लेख गरे। उनका अनुसार, “हरेक नागरिकको सुरक्षामा जस्तै, वातावरणीय सुरक्षामा पनि प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। सीमाना केवल भौगोलिक रेखा होइन, यो हाम्रो पहिचान हो—अतः यसलाई सफा, सुन्दर र व्यवस्थित राख्नु हाम्रो सामूहिक दायित्व बनेको छ।”

    डीएसपी राजु कार्कीले वृक्षारोपण अभियानले सीमाक्षेत्रको छवि सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “बीरगंज–रक्सौल नेपाल–भारत व्यापारिक प्रवेशद्वार हो। यहाँको वातावरणीय सौन्दर्य नै दुवै मुलुकबीचको मित्रताको प्रतीक बन्न सक्छ।”

    ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवालले सीमाक्षेत्रमा बढ्दो सवारी चाप र धूलो व्यवस्थापनका लागि हरियाली विस्तार ठूलो राहत हुने बताए। उनका अनुसार, “हरियालीले धूलो रोक्छ, प्रदूषण कम गर्छ, मनोवैज्ञानिक तन्दुरुस्ती बढाउँछ। यस्तो अभियानले ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउँछ।”

    सरसफाइ महाशाखाका प्रमुख सर्फुदिन मियाँले बीरगंज महानगरले विगत केही वर्षयता वातावरणीय सुधारमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गरे। उनले भने, “सफा वातावरण, सुन्दर शहर। महानगरका यस्ता अभियानले शहरलाई आधुनिक शहरी स्वरूप दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्।”

    महानगर प्रहरी प्रमुख हरि भुसालले सीमाक्षेत्रको सुरक्षासँगै वातावरणीय सौन्दर्यकरण पनि उतिनै प्राथमिकता भएको जनाए। उनका अनुसार, “हरेक वृक्ष रोप्नु भनेको भविष्य सुरक्षित गर्नु हो।”

    यस्तै, सशस्त्र प्रहरी बल नं.१३ गण हेडक्वार्टरका प्रमुख पुरनचन्द्र भट्टले सीमा क्षेत्रको पर्यावरणीय सुरक्षा र हरियाली विस्तारमा सशस्त्र प्रहरी सदैव अग्रसर रहने बताए। “सीमा सुरक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा वातावरणीय संरक्षण पनि उतिकै संवेदनशील हो,” भन्दै उनले वृक्षारोपण थालनी महत्वपूर्ण भएको जनाए।

    बीरगंज भन्सार कार्यालयका डीएसपी पुरुषोत्तम भण्डारीले सीमा क्षेत्र व्यवस्थापनमा हरियाली अत्यावश्यक भएको उल्लेख गर्दै कार्यक्रमप्रति प्रशंसा व्यक्त गरे।

    कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईले नागरिक समाजसँगको सहकार्यले मात्र दिगो विकास सम्भव हुने बताए। उनले भने, “हरेक विकास अभियान नागरिकको सहभागिताबिना अपूरो हुन्छ। आजको सहभागिताले बीरगंजले वातावरणीय अभियानलाई हृदयले स्वीकारेको संकेत दिन्छ।”

    साथै, भारतीय सुरक्षा बल (SSB) का प्रतिनिधि तथा रक्सौलका सिओ संजय रावत, दीपक कृष्णा (DY), नवीन कुमार (DY) लगायतका भारतीय पक्षका अधिकारीहरूको उल्लेखनीय उपस्थिति देखिनु स्वयं यो अभियान सीमापार मैत्रीपूर्ण सहकार्यको उदाहरण बनेको छ।

    कार्यक्रममा महानगरपालिकाका पदाधिकारी, सामुदायिक प्रहरी, पत्रकार, समाजसेवी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रह्यो। आयोजकका अनुसार, नागरिक उपस्थितिको परिमाणले कार्यक्रमलाई अत्यन्त सफल बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar