चाल्नाखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा सम्पन्न

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौं । चाल्नाखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा २०८२ साल पौष २६ गते शनिबार खहरे घट्टेचौरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष श्री राजेश परियारको सभापतित्वमा सम्पन्न भएको थियो।

    सभामा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन माननीय मन्त्री बिन्दु श्रेष्ठको उपस्थिति रहेको थियो। विशेष अतिथिमा पूर्वमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जन सहभागी हुनुहुन्थ्यो। साथै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोल, वडा नं. १ का वडा अध्यक्ष जय थापामगरलगायत विभिन्न क्षेत्रका भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य गौतम तामाङले दिनुभएको थियो। संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष राजेश परियारले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन सचिव विनोद गुरुङले पेश गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले खानेपानी तथा सरसफाई क्षेत्रको महत्वमाथि प्रकाश पार्दै समितिले गरेको कार्यको प्रशंसा गरेका थिए।

    दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल र प्रमुख मोहन बस्नेतले समितिले समुदायस्तरमा उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न शुभकामना व्यक्त गर्नुभयो। विशेष अतिथि पुकार महर्जन र प्रमुख अतिथि माननीय मन्त्री बिन्दु श्रेष्ठले पनि समितिलाई बधाई तथा शुभकामना दिँदै भविष्यमा खानेपानी तथा सरसफाई क्षेत्रमा थप योगदान पुर्‍याउन आग्रह गर्नुभयो।

    कार्यक्रमका क्रममा खानेपानी तथा सरसफाई क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याउने सामाजिक व्यक्तित्वहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

    औपचारिक कार्यक्रम सम्पन्न भएपछि साधारण सभाको बन्दसत्र सुरु भएको थियो। बन्दसत्रले आगामी कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा राजेश परियार, उपाध्यक्षमा गौतम तामाङ, सचिवमा विनोद गुरुङ, कोषाध्यक्षमा कमलापुरी तथा सदस्यहरूमा राजेश तामाङ, कविन्द्र लामा, भुवन कार्की, राममाया बस्नेत, दीक्षा अधिकारी, मुना लामा र श्यामबहादुर नगरकोटी रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar