बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ बाट गोविन्द थपलिया सहित पाँच जनाको नाम सिफारिस

  • कालिका खवर
  • आइतवार, पुस २०, २०८२
  • बर्दिया । बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले पाँच जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुने उम्मेदवारहरूमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी रहेका छन्।

    सिफारिस सूचीअनुसार शालिकराम अधिकारी नेकपा एमाले बर्दिया जिल्ला कमिटीका अध्यक्ष हुन् भने कपिल ज्ञवाली जिल्ला कमिटी सदस्य रहेका छन्। त्यसैगरी सुरेश रेग्मी पार्टीका पुराना र अनुभवी नेता मानिन्छन् भने सुष्मा चौधरी बाँसगढी नगरपालिकाकी पूर्व उपमेयर हुन्।

    सिफारिसमा परेका गोविन्द थपलियाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्ष हुँदै अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। साथै उनले दुई कार्यकाल नेकपा एमाले बर्दिया–काठमाडौं सम्पर्क मञ्चको सचिवालय सदस्य तथा युवा–विद्यार्थी फाँट इन्चार्ज र दुई कार्यकाल एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्यको भूमिका निर्वाह गरिसकेका छन्।

    नेकपा एमालेका पूर्णकालीन कार्यकर्ता थपलियाले पार्टी संगठन निर्माण र विस्तारमा निरन्तर योगदान दिँदै आएको भन्दै भूगोल पार्टीले उनको नाम सिफारिस गरेको जनाइएको छ। बदलिँदो राजनीतिक परिवेश र एमालेभित्र ४० वर्षमुनिको युवा क्लस्टरलाई प्रतिनिधित्व गराउने उद्देश्यले उनलाई सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ।

    थपलियाका पिता राजकुमार थपलियाको समेत एमाले पार्टीमा ठूलो त्याग, संघर्ष र योगदान रहेको स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्। भूगोल पार्टीबाट नाम सिफारिस भएपछि केन्द्रले उचित मूल्यांकन गर्नेमा आफू विश्वस्त रहेको थपलियाले बताएका छन्। आफू ग्राउन्ड जिरोबाटै निरन्तर पार्टी काममा खटिएको अबिचलित कार्यकर्ता भएको उनको भनाइ छ।

    हाल नेकपा एमालेका महासचिव शंकर पोखरेल ३१ वर्षकै उमेरमा सांसद निर्वाचित भएको उदाहरण दिँदै थपलियाले आफू सबै हिसाबले चुनाव लड्न तयार रहेको बताएका छन्। साइबर आक्रमण र विभिन्न भ्रमपूर्ण आरोपहरूका बाबजुद पार्टीको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै उनले आफू दुई विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा एमफिल लिड पीएचडी अध्ययनरत रहेको जानकारी दिए। जेन्जी आन्दोलनका बेला पार्टीको पक्षमा निडर रूपमा पैरवी गर्ने साहसी नेताको छवि बनाएका थपलिया हाल बर्दियाली जनताका आशा र अपेक्षाका नेताका रूपमा परिचित हुँदै गएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar