दसैं अर्थतन्त्रमा कोभिड प्रभाव, चम्किने बेला सुस्तायो बजार

Sharing is caring!

असोज २, २०७७

बडादसैंको पहिलो दिन (घटस्थापना) मा मुलुकका प्रमुख व्यापारिक केन्द्रमा चहलपहल हुन्थ्यो। सपिङ मल तथा बजारमा व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ, किनबेच गर्नेको ठेलमठेल देखिन्थ्यो। व्यापारीले राम्रै आम्दानी गर्थे। खर्च गर्नेले पनि मन फुकाउँथे। यसले अर्थतन्त्रलाई नै चलायमान बनाउँथ्यो।

तर यो वर्ष घटस्थापनाको दिन शनिबार बजारमा खासै चहलपहल देखिएन। व्यापारी ग्राहक आउने छाँटकाँट नदेखेपछि निराश छन्। कोभिड–१९ महामारीका कारण अहिले दसैं लक्षित बजार सुस्ताएको छ। धेरैको रोजगारी गुमेको छ। आम्दानी खुम्चिएको छ। कोभिड सर्ने त्रास पनि छ। कोरोनाको कारण राजधानीबाट अधिकांश आफ्नो थातथलो (जन्म गाउँ) जाने मुडमा छैनन्। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले टीका लगाउन आफन्तकोमा जाने परिस्थिति छैन। त्यसैले किनमेल प्राथमिकतामा छैन। यसले दसैं अर्थतन्त्रलाई खुम्चाएको छ।

आरपी ग्रुपका कार्यकारी निर्देशक रुपेश पाण्डे अहिलेको दसैं बजार देखेर चिन्तित छन्। पाण्डेका दरबारमार्ग, लबी मल, जाउलाखेललगायतका ठाउँमा ब्रान्डेड कपडाका दुईदर्जन बढी आउटलेट छन्। ‘विगतका वर्ष दसैं सुरु भएपछि सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ पाण्डेले भने, ‘अहिले कोभिडको त्रासले ग्राहक नै छैनन्।’ पाण्डेका अनुसार पोहोरको तुलनामा अहिले २० प्रतिशतमात्र व्यापार छ। ‘दसैंको सपिङ गर्न कोही आएका छैनन्,’ पाण्डेले भने, ‘अहिले बजार सुस्तायो। दसैं आएजस्तो पनि छैन।’ पाण्डेका अनुसार विगत वर्षको तुलनामा यो वर्ष ८० प्रतिशत कम व्यापार भएको छ।

काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, भृकुटीमण्डपलगायतका स्थान र सपिङ मलमा पनि खासै भिडभाड छैन। काठमाडौं मल, भाटभटेनी सपुरमार्केट, कान्तिपुर मल, बिजी मल, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, लबी मल, केएल टावरमा पसले ग्राहक कुरेर बसिरहेका छन्।

आम्दानीका स्रोत खुम्चिएपछि त्यसको प्रभाव बजारमा देखिएको हो। निजी विद्यालयमा पढाउने राकेश अधिकारी यो वर्ष दसैंको सपिङ नगर्ने निर्णयमा पुगेका छन्। वनस्थलीमा बस्दै आएका तनहुँका अधिकारीले आम्दानी नभएकाले खर्च कटौती गर्नुपरेको बताए। ‘विद्यालय बन्द भएको ६ महिना भयो,’ अधिकारीले भने, ‘आम्दानी नै नभएपछि के सपिङ गर्नु।’

उपभोक्ताको क्रयशक्ति घट्दा बजारमा चहलपहल देखिएको छैन। यसले उपभोग पनि घट्न पुगी सिंगो अर्थचक्र प्रभावित हुने चिन्ता अर्थशास्त्रीहरुको छ।

एकातर्फ खर्च गर्ने क्षमता गुमेको छ। अर्कातर्फ क्षमता भएकालाई खर्च गर्ने वातावरण पनि छैन। दसैंमा लामो बिदा हुने भएकाले अधिकांश घुम्न निस्किन्थे। यसले बजारमा किनबेच र चहलपहल बढाउँथ्यो। अहिले हिँडडुल गर्न पनि त्रास छ। विगतका दसैंमा लुगा, सवारीसाधन, घरयसी सामग्री, मदिरा, पेयपदार्थको बढी बिक्री हुन्थ्यो। यसपटक भने व्यवसायीले दसैं आएको अनुभूति नै नगरेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। ‘बजार खोलेको छ ग्राहक नै आउँदैनन्,’ श्रेष्ठले भने, ‘दसैंमा किनबेच नभएपछि अर्थतन्त्रको चक्र नै प्रभावित बन्छ।’ कोभिडका कारण बजारमा नयाँ सामान पनि नआएको उनले बताए। कसैमा पनि दसैं मुड नदेखिएकाले सामान किनबेच नभएको श्रेष्ठ बताउँछन्।

विगतका दसैं तिहारमा अधिकांश उत्पादकले विशेष प्याकेज ल्याउने गरेकोमा अहिले केही सीमित कम्पनीले मात्र यस्तो योजना ल्याएका छन्। वर्षभरि उपभोग हुने वस्तुमध्ये दसैं–तिहारमा करिब २० प्रतिशत खपत हुने अर्थक्षेत्रका जानकार बताउँछन्। चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष वार्षिक उपभोग ३० खर्ब ८५ अर्ब रुपैयाँबराबरको हुने अनुमान गरिएको छ। यसलाई आधार मान्दा २० प्रतिशतले दसैंतिहारमा करिब ६ खर्ब १७ अर्ब रुपैयाँका वस्तुको किनबेच हुनुपर्ने हो तर अवस्था त्यस्तो देखिँदैन।

वस्तुको खपत घटेर बजारमा पैसा नगएपछि त्यसको असर अर्थतन्त्रमा पर्ने अर्थशास्त्री डा. विश्व पौडेल बताउँछन्। ‘आम्दानी घटेकाले खर्च गर्ने क्षमता पनि घटेको छ,’ पौडेलले भने, ‘कोभिडका कारण दैनिक उपभोग्य वस्तुबाहेक अन्य क्षेत्रमा खर्च कम भएको छ।’ रेमिटेन्स नघटे पनि खर्च गर्ने वातावरण पनि नभएको पौडेलले बताए। ‘कोभिडको प्रभाव कति लम्बिने, निश्चित छैन,’ उनले भने, ‘यस्तो बेला बचतमा भएको रकम पनि बचाउनुपर्ने बाध्यता छ।’

विगतमा व्यापारीले दसैं तिहारका लागि दुई महिनाअघिदेखि नै सामान आयात गर्थे। यो वर्ष सामान आयात पोहोरभन्दा घटेको छ। पोहोर भदौसम्म दुई खर्ब २९ अर्ब ५० करोड रुपैयाँको सामान आयात भएकोमा यो वर्ष २२ प्रतिशत घटेर एक खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँमा सीमित देखिएको छ। आयात घट्नु अर्थतन्त्रलाई राम्रो भए पनि उपभोक्ताको क्रयशक्ति घटेकाले उपभोग पनि घट्न पुगी आयात न्यून भएको अर्थक्षेत्रका जानकार बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here