विद्युत महसुलमा जरिवाना लगाइएको विरोधमा सांसदसहित विद्युत प्राधिकरण बीरगन्ज को गेटमा धर्ना

Sharing is caring!

दिपु वर्णवाल

बीरगन्ज, १२ असोज। विद्युत महसुलमा जरिवाना लगाइएको विरोधमा सांसदसहितका नेता कार्यकर्ताले आज बीरगन्जको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गेटमा धर्ना दिएका छन् । लकडाउनको समयको विद्युत महसुलमा जरिवाना लिन लागेपछि यसकै विरोधमा जनता समाजवादी पार्टीका सांसदसहितका नेता कार्यकर्ताहरुले प्राधिकरणको गेटमा नै १ घण्टा धर्ना दिएका हुन् ।

तत्कालिन समाजवादी पार्टी बीरगन्ज महानगर अध्यक्ष तथा जसपाका युवा नेता इश्वर यादवको अगुवाईको भएको धर्नामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लकडाउन अवधिभरको विद्युत महसुलमा जरिवाना लिन नपाइने, जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्नुपर्ने, लोडसेडिङको अन्त्य गर्न, प्राधिकरणमा उचित पार्किङको व्यवस्था गनुपर्ने, शौचालयको व्यवस्था हुनु पर्ने, लकडाउन खुलेको अवधिले एक महिना विद्युत महसुस बुझाउन समय दिनु पर्ने लगायतका माग राखेर धर्ना तथा विरोध कार्यक्रम भएको जसपाका युवा नेता यादवले बताए ।

लकडाउन र निषेधाज्ञाका बेला आम्दानी ठप्प भएर घर थुनिएको बेलाको महसुल विद्युत प्राधिकरणले जरिवाना थपेर तिर्न लगाएपछि सर्वसाधारणहरु थप मर्कामा परेको सांसद प्रदीप यादवले बताए । लकडाउन र निषेधाज्ञाका बेला प्राधिकरणका कर्मचारी आफै मिटरको रिडिङ गर्न समेत नआएकोमा प्राधिकरणले साउन र भदौ महिनाको महसुलमा जरिवाना थपेर बिल पठाएको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् ।

यता नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुशियत यादव लकडाउनको समयमा केन्द्रले तोकेको समयमा विद्युत् महसुल अनलाइन र बैंकमार्फत् भुक्तानी गर्दा कार्यालयले लिने अतिरिक्त शुल्क पनि तिर्न नपरेको बताए ।

लकडाउनको समयमा नेपाल विद्युत प्राधिकरणले अनलाइन बिल भुक्तानी सेवा गरेपछि अधिकांश उपभोक्ताहरुले घरमै बसिबसी मोबाइल एप्लिकेशनको माध्यमबाट विद्युत् महसुल बुझाएको उनको दाबी छ । तर,लकडाउनको समयमा वा लकडाउन खुकुलो भएको समयमा विभिन्न माध्यमबाट सुचना प्रवाह गरेकाले सुचना पाएर नआएका वा जानकारी नपाएका सेवाग्राहीहरुले रकम नबुझाएकाले जरिवाना रकम बुझाउनु परेको प्रमुख यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here