धादिङका २६ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’

Sharing is caring!

असोज १२, २०७७

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ धादिङ जिल्लाका २६ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ।

धादिङको १३ वटा स्थानीय तहको प्रत्येकमा दुई/दुईवटा पर्ने गरी चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन हुन लागेको हो। गत असार ३१ मा मन्त्रीस्तरीय निर्णयले धादिङको विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। 

आर्थिक वर्ष २०७५/७६ मा बागमती प्रदेशका १३ जिल्लाका २० वटा सामुदायिक माध्यमिक विद्यालयमा नमुना कार्यक्रमको रुपमा शुरुवात भएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएपछि सामाजिक विकास मन्त्रालयले प्रदेशका ११९ वटै स्थानीय तहमा बिस्तार गरेको हो।

स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वाथ्य रेखदेखका लागि विद्यालय नर्स कार्यक्रम सुरु गरिएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए। प्रवक्ता सुवेदीका अनुसार कार्यक्रम लागू भएका विद्यालयमा खटिने नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे जानकारी लिनुका साथै उनीहरूलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे पनि सिकाउने छन्।

नर्सहरूका लागि प्रत्येक विद्यालयले दुईवटा कोठाको व्यवस्था गर्नुपर्नेछ। एउटा कोठामा विद्यार्थीका उपचार तथा स्वास्थ्य परामर्शलगायतका सेवा दिन र अर्को कोठा नर्सका लागि आवश्यक सामग्रीहरू राख्नका लागि छुट्याइएको छ। मन्त्रालयले विद्यालयमा खटेका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधिहरू समेत उपलब्ध गराउनेछ। 

धादिङमा परीक्षणका रुपमा आर्थिक वर्ष २०७५/७६ मा बेनिघाट रोराङको चन्द्रोदय माविमा शुरुवात गरिएको कार्यक्रम अघिल्लो वर्ष गल्छी र नीलकण्ठ नगरपालिकामा बिस्तार गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here