कम्युनिस्टका ‘जनवादी गीत’ भन्दा कम छैनन् र्‍याप गीत

Sharing is caring!

२६ भदौ, काठमाडौं:-

जिउमा नमिल्ने धोक्रे लुगा, शारीरिक हाउभाउ पनि उस्तै अनि एकोहोरो गन्थन सुनाए जस्तो गीति शैली । र्‍याप गाउनेहरुलाई आम आँखाले हेर्दा समाजभन्दा निकै टाढाको प्राणी जस्तै देखिन्छ । संस्कार र परम्पराको विरोधीजस्तो लाग्छ । टुटेफुटेका शब्द फलाक्दै फेशन देखाउने ‘ठेट्ना केटाहरु’को भन्दा बढ्ता चिनारी उनीहरुको बन्दैन ।

तर, उनीहरुको जीवनलाई गहिरोसँग चिहाउने र गाएका शब्दहरु सुन्ने हो भने उनीहरु गम्भीर मात्र लाग्दैनन्, समाजभित्रका हरेक पाटो केलाउँदै गीतमार्फत जीवनोपयोगी सन्देश पनि छरिरहेको पाइन्छ ।

कतिपय र्‍याप गीतहरु जनवादी गायक जीवन शर्मा र जेबी टुहुरेका सिर्जना भन्दा कम प्रगतिशील देखिँदैनन् । र्‍यापभित्रको प्रगतिशीलतालाई ध्यान दिने हो भने विशेष गरी कम्युनिष्टहरुले र्‍यापलाई कसरी हेर्ने भन्नेमा पनि बहस गर्नैपर्ला अहिलेको युगमा । नेपाली र्‍याप गीतहरुले सामाजिक सवाल उठाएर अग्रगामी सोच राखेको प्रशस्तै देखिन्छ ।

यस हिसाबले समाज र संस्कारदेखि अलग देखिने र्‍याप गाउने पुस्ताले समाजलाई गति दिने भाव पनि उत्तिकै समेट्ने गरेको पाइन्छ । त्यसोभए र्‍याप गीतहरु कति प्रगतिशील छन् त ? यो प्रश्नको जवाफलाई व्याख्या चाहिँदैन, स्वयम् गीतहरुले नै प्रमाण दिन्छन् ।

नेपाली र्‍याप गीतको चर्चा गर्नुभन्दा पहिले र्‍यापको इतिहास र परिभाषा केलाउने प्रयास गरौं । र्‍यापको साइनो अमेरिकाको अश्वेत आन्दोलनसँग जोडिएको हुनाले यसले क्रान्तिकारी पृष्ठभूमि बोकेको छ ।

र्‍यापको इतिहास

बोलिने वा गुनगुनाइने अनुप्रासयुक्त शब्दलाई र्‍याप भनिन्छ । अंग्रेजी शब्द RAP लाई ‘रिदम एन्ड पोएट्री’ समेत भनेर अर्थ्याइन्छ, अर्थात् लयमा बगेको कविता । यसमा कुनै पनि विषयवस्तु अनुप्रासमय प्रवाहमा प्रस्तुत गरिन्छ ।

यसैले र्‍यापर हुने मानिसमा कविको गुण हुनुपर्छ । र्‍यापमा गीत गाउनुभन्दा पनि शब्द उच्चारण गर्दै बोल्ने शैलीमा प्रस्तुत गरिन्छ । र्‍याप वा र्‍यापिङलाई दक्षिण अफ्रिकाको जोहान्सवर्गमा सुरु भएको क्वेटो म्युजिकमा प्रयोग भएको एउटा शैली मानिन्छ । शैलीको हिसाबले र्‍यापले भाषण, गद्य शैली, कविता र गायनको दायरा समेट्छ ।

डिजे कुल हर्क

र्‍यापको इतिहास हेर्ने हो भने यसको थालनी सन् १९७० को दशकमा स्ट्रीट कविताबाट भएको पाइन्छ । र्‍याप म्युजिक (यदाकदा हिपहप म्युजिकको रुपमै बुझिने) सुरुवातमा अफ्रिका-अमेरिकामा स्ट्रीट कल्चरको रुपमा रहेको विश्वास गरिन्छ, जुन लोकप्रिय संगीतको एउटा शैली थियो ।

अमेरिकाको संक्रमणकालमा पार्कमा भेला भएका बेरोजगारहरुलाई जमैकनहरुले गीत सुनाउने क्रममा र्‍यापको ख्याति बढेको बताइन्छ । पछि मानिसहरुले राजनीतिक समस्या पनि र्‍याप मार्फत भन्न थाले । विशेष गरी गोरा जातिले गरेको विभेद विरुद्ध अश्वेत समुदायले छिटो-छिटो बोलेर, राजनीतिक असन्तुष्टि व्यक्त गर्ने परम्पराबाट र्‍याप शैलीको विकास भयो ।

पहिलो र्‍यापर जमैकन आप्रवासी कुल हर्कलाई मानिन्छ । पहिलो डिजे समेत मानिने उनलाई हिपहपको संस्थापक पिता समेत मानिन्छ ।

प्रगतिशील कित्तामा र्‍याप

सामान्य रुपमा बुझ्दा संगीतको बिटमा बोल्ने शैली नै र्‍याप हो । तर, र्‍यापको महानता शब्दमै भएकाले यसले व्यक्तिदेखि संसारसम्मको कुरा समेट्ने गर्छ ।

दुई दशकभन्दा अगाडि नेपालमा र्‍याप भित्र्याएका गिरीश खतिवडाकै कुरा गरौं ।

एक समय र्‍याप गायन थाल्दा ‘बिग्रेको केटो’ भनेर सबैबाट आलोचना सुनेका उनले देशको राजनीतिक विकृतिदेखि समाजमा महिलाको अवस्थासम्मको चित्रण आफ्नो गीतमा गरेका छन् ।

हालउनले महिलाहरुलाई ऊर्जा दिने नयाँ गीत ‘बी ह्वाट यु वान्ना बी’ तयार पारेका छन् ।

नयाँ गीतबारे गिरीश भन्छन्, ‘महिलाहरु अझै पनि समाजमा असुरक्षित र कमजोर महसुस गर्छन् । उनीहरुले चाहे जे पनि गर्न सक्छन् भन्ने भावसहित महिलाहरुलाई सबलीकरण गर्ने गीत बनाएको छु ।’

गीतमा उनले मीरा राई, सिपोरा गुरुङ, अनुराधा कोइराला, अभया लगायत समाजमा स्थापित महिलाहरुको उदाहरण अघि सार्दै अरु महिलामा हिम्मत भर्ने प्रयास गरेका छन् ।

प्रायः सन्देशमूलक गीत गाउने उनीसहितको ‘गिरीश एन्ड द युनिटी’को सुरुवाती समयको ‘मलाई भोट देऊ’ गीत पनि कम छैन । भोट पाएपछि जनताको सपना कुल्चिने नेताप्रतिको आक्रोश हो गीत ।

नोट दिन्छु तिमीलाई कोट दिन्छु
यसको सट्टामा मलाई भोट देऊ
मेरो पार्टी हो एक्स, मेरो चुनाव चिह्न एक्स

एक्काइसौं शताब्दीमा स्वागत छ
यो तनमा पूर्खाको त्यो रगत छ
आफ्नो खुट्टामा आफैं उभिने तागत छ
आफ्नो जगतको रक्षा गर्ने चाहत छ
हामीलाई चाहिँदैन झूटो आश्वासन
तेरो त्यो नोट, कोट, घर, कार अनि रासन
तेरो त्यो क्यास चेक नेम फेम अनि फ्याक्स
सबैको स्रोत हाम्रो मन्थ्ली इन्कम ट्याक्स ।

यस्तै, अर्को गीत ‘ड्रग्स मेरो घर’ मा कुलतबाट टाढिन प्रयासरत युवाको पीडा समेटिएको छ ।

एक समय गिरीशसँगै र्‍याप गायनमा लागेका सुदिन पोखरेल पनि र्‍यापलाई आफूभित्रको विद्रोह र आक्रोश पोख्ने थलो पनि मान्छन् । ‘यो अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो पनि हो’ उनले भने, ‘स्टाइल पारेर के बोलेको होला जस्तो लाग्न सक्छ, तर र्‍यापमा आफूलाई चित्त नबुझेको समाजको पाटो समेत आइरहेको हुन्छ ।’

अर्का र्‍यापर लाउरेको एउटा गीतले राजनीतिमा ठूला माछाहरु खुलमखुला चरिचरनमा रहेको पाटो गाएका छन् –

मापसे गर्नेहरुको बाटो तैंले मोड्दिइस्
थाहा पाुथेँ सोल्टाहरुको मुख तैंले फोड्थिइस्
शरीर बेच्नेलाई समातिस् तर देश बेच्नेलाई छोड्दिइस् ।

लाउरेकै अर्को गीतले जनतालाई निरीह भएर नबस्न र सचेत भएर राजनीतिक कित्तालाई प्रश्न गर्न जोस्याउँछ ।

किन चुप नेपाली, खोज जोरी दाह्रा किटी
तेरो हक मुन्ट्याइसक्यो, घुसखोरी राजनीति
तीन करोड छन् भोको पेट, त्यसको बाउलाई बास्मती
तेरै आन्दोलनमा सुक्यो, बाँकी भुको सास जति
कति भर्छस् खल्ती, बेची आँगन घरको
काम गर्न मान्छस् झर्को, भाषण भने सधैं चर्को ।

र्‍यापरहरुले समाजका विकृति त केलाएकै छन्, जीवनमा आदर्श र मान्यता कति महत्वका कुरा हुन् भनेर पनि संवेदनशील रुपमा उठाएका छन् । नयाँ र्‍यापर भी-टेनले आर्थिक दरिद्रतामा पनि अविचलित रहने लाखौं दीनहीनहरुको आवाज बोलेका छन्-

गरिबीले पिछडिएनि हाम्रो मन स्वच्छ छ
धनी मान्छेहरुको धन सदा जहिल्यै तुच्छ छ
संघर्ष गरौं सधैं अघि बढौं
सामु आउँछ दुःख कष्ट दुःखसँग लडौं
जहिल्यै श्रम शोषण
राम्रो छैन पालन पोषण ।

यमबुद्धको प्रगतिशील धार

नेपाली र्‍यापको विस्तारमा विशेष भूमिका खेल्ने यमबुद्धले त झन् धेरै युवालाई जीवनोपयोगी सन्देश नै दिए । युवाहरुको एउटा सर्कलमा र्‍यापलाई ढुकढुकी नै बनाएका उनले व्यक्तिगत साहसको र सत्यप्रति अडिग रहने कुरा गर्दै सामाजिक विडम्बनाको पाटो समेत खोतलेका छन् ।

म फुट्छु तर झुक्दिनँ
दिनरात लड्छु सुत्दिनँ
अघि बढ्छु बरु मर्छु
जबसम्म पुग्दिनँ गन्तव्यमा मेरो
म कर्त्तव्यबाट उठ्दिनँ
सभ्य केही बुझ्दिनँ
म सत्यबाट लुक्दिनँ ।

यमबुद्धले अर्को गीतमा छोरा-छोरीबीचको विभेदको कुरा मात्र गरेका छैनन्, नेपाली समाजमा प्रचलित बाल विवाहको प्रसंग खोतल्दै चेलीबेटी बेचबिखनको गम्भीर विषय पनि उठान गरेका छन् ।

एक किसानको घरमा नवशिशु जन्मियो
तर, छोरी पो रैछ भनी उसको मन झस्कियो
केही वर्षपछि उनीहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मक्ख भो
समय बित्दै जाँदा किसानी नानी पनि ठूली भइन्
तर सधैं बाबाको हेलामा रोइरहिन्
दाउरा र चूलो पानी पँधेरोमै पुरिरहिन्
उज्यालो नपाई प्रायः अँध्यारोमै लुकिरहिन्
मात्र १३ वर्षकी उनलाई पढ्ने मन त थ्यो
तर बुवाको उसले उनलाई पराया भन्दथ्यो
छोरीको भलाइभन्दा फाइदा र घाटा सम्झन्थ्यो
बिहे गर्न तम्सन्थ्यो तर दाइजोले झस्कन्थ्यो ।

यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारी आफ्नो छोराले र्‍यापलाई समाज सुधारको पक्षमा प्रयोग गरेको महसुस गर्दै भन्छन्- ‘यस्ता गीत किशोरहरुले निराशा प्रकट गर्नमात्रै गाउँछन् भन्ने हामी सबैको धारणा थियो, तर यमबुद्धले युवाहरुलाई कुलतमा नलाग्न र असल बाटोमा लाग्न प्रेरणा दिएको मैले महसुस गरेको छु ।’

“तर यम बुद्ध आज हाम्रो सामु छैनन”

र्‍यापबारे प्रकाश सायमी के भन्छन् ?

संगीतसम्बन्धी अनुसन्धाता प्रकाश सायमीलाई पनि शक्तिशाली शब्द आउने भएकाले र्‍यापको निर्माण पक्ष राम्रो लाग्छ । मजदुरहरुले कारखानामा कम समयमा गीत गाउनुपर्दा बनाएका गीतहरु भएकाले र्‍यापको विशिष्ट महत्व देख्छन् उनी । तर, नेपाली र्‍याप गीतहरु बाहिरका गीतहरु जस्तो लिरिकल रुपमा सशक्त नभएको उनको हेराइ छ ।

‘यहाँ र्‍याप बनाउँदा ‘फिल इन द ब्ल्याङ्क’ गरेजस्तो मात्र देखियो’, सायमी भन्छन्, ‘गीत बनेपछि र्‍याप भर्ने काम भएकाले त्यति वजनदार हुन सकेन ।’ यद्यपि पछिल्लो समयमा र्‍याप सिङ्गल गीतकै रुपमा आउन थालेको र यो प्रयास स्वागतयोग्य भएको उनको ठहर छ । पछिल्लो समय निर्णय, यमबुद्धहरुले र्‍यापलाई धेरै फरक किसिमले ल्याएको उनी बताउँछन् ।

र्‍याप र ड्रग्सको के साइनो ?

एउटा खास शैलीमा खुम्चिएर नबसी बक्सबाट बाहिर निस्किन खोज्ने हिपहप कल्चरसँग र्‍याप नजिक मानिन्छ । यसैले लुगा लगाउने र बोल्ने शैली नै अरुभन्दा भिन्न हुन्छ । हिपहप सिंगो संस्कृति हो भने र्‍याप चाहीँ गाउने शैली हो ।

स्वाभावैले नयाँ पुस्ता नयाँपन रुचाउँछ । यसैले युवा पुस्ता हिपहप कल्चर र र्‍यापसँग जोडिएका छन् । एक समय घरैपिच्छे गिटार समाएर पपगीत गुनगुनाउने युवाकै हाराहारीमा अहिले र्‍यापको मोहनीमा पर्नेहरु छन् । यो उमेरमा बढीजसो ड्रग्समा फस्ने र समूहमा आवारागर्दी गर्दै हिँड्ने भएकाले र्‍यापरहरु पनि खराब हुन्छन् भन्ने सोचाइ छ ।

अमेरिकाकी चर्चित हिपहप गायिका आइसा फुकुसिमालाई र्‍यापलाई ड्रग्स र हिंसासँग जोडेर बुझिने गरेको चित्त बुझ्दैन ।

हिपहप संगीतबाट सामाजिक सन्देश फैलाउने आफ्नो कामलाई ‘र्‍याप्टिभिज्म’ भन्न रुचाउने यी अश्वेत गायिकाले बताएकी छिन्, ‘हामी र्‍यापमार्फत हामीले भोग्ने थुप्रै भेदभावका बीच पनि हामी स्वतन्त्र छौं र आ-आफ्नो समुदायको खुसीको लागि काम गर्न सक्छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

नेपाली र्‍यापका प्रणेता गिरीश पनि र्‍यापले युवालाई कुलतबाट जोगाएर सकारात्मक बाटोमा डोर्‍याउन ऊर्जाको काम गर्ने धारणा राख्छन्, गाउने र सुन्ने दुवैलाई । उनी भन्छन्, ‘र्‍याप भनेको आत्मविश्वास हो । र्‍यापले प्रोत्साहन दिने र जोश बढाउने नै हो ।’

केही नेपाली र्‍यापरहरुः

गिरीश खतिवडा

नेपालमा र्‍याप भित्र्याउने श्रेय पाएका गिरीश नेपाली र्‍याप संसारमा ‘गोर्खाली जी’ उपनामले चिनिन्छन् । र्‍याप संगीतमा उनी १९९२ देखि सक्रिय भएका हुन् । र्‍यापर र गीतकार रहेका उनी एक समय आरजे र भिजेको रुपमा समेत कहलिएका थिए ।

गिरीशले आठ कक्षामा पढ्दा १३ वर्षकै उमेरमा ‘मिनिङलेस र्‍याप’ गीत रेकर्ड गराएका थिए । सोही गीतकै नाममा प्रनिल एल. तिमल्सिनाको साथमा ०५१ सालमा एल्बम निकालेका थिए । नेपालको र्‍याप गीतको पहिलो एल्बम यही बन्यो । एल्बमको ‘म यस्तो छु’, ‘तिमी जहाँ पनि जान्छौ’ जस्ता गीत चलेका थिए ।

उनले समय क्रममा र्‍याप मिनिङलेस हैन भन्ने साबित गर्दै विभिन्न गायकको समेत साथ लिँदै नेपाली संगीतमा र्‍यापलाई स्थापित नै गराए ।

‘म यस्तो छु’, ‘सी इज द बम’ ‘मलाई भोट देऊ’, ‘जित्नेको इतिहास’ जस्ता गीत निकालिसकेका उनले अहिलेसम्म करिब दुई सय गीत गाइसकेका छन् । कुनै बेला प्रनिल, सुदिन पोखरेल लगायतसँग सांगीतिक सहकार्य गरेका गिरीशले चर्चित गायकहरुसँग गाएका छन् । पछिल्लो समय भने एकल रुपमा संगीत कर्ममा जुटिरहेका छन् ।

र्‍यापलाई लोकपि्रयताको उँचाइमा पुर्‍याएर अमेरिका गएका उनी त्यहाँ सात वर्ष बसे । पाँच वर्षअघि नेपाल फर्किएयता उनी संगीतमै केन्दि्रत छन् । विगतमा ‘मिनिङलेस र्‍याप’, ‘ब्याक अगेन’, ‘एक्स’ एल्बम निकालेका उनी पछिल्लो समय भने युट्युबमै गीत रिलिज गर्छन् । युट्युबमा भिडियो ब्लग समेत राख्ने गरेका उनले नयाँ पुस्ताका र्‍यापरहरुलाई समेत ऊर्जा दिँदै आएका छन् ।

प्रनिल तिमल्सिना

प्रनिल तिमल्सिनाले गिरीश खतिवडासँगै सांगीतिक यात्राको सुरुवात गरेका थिए । त्यो सहयात्रा नाममै जोडिँदै उनीहरु ‘जीपी’ बाट चिनिए ।

जीपीको साझेदारीमा ‘मिनिङलेस र्‍याप’ एल्बमबाट यात्रा थालेका उनले ‘ब्याक अगेन’ बाट लोकपि्रयता पाए ।

उनका ‘तिमी जहाँ पनि जान्छौ’, ‘मलाई भोट देऊ’, ‘हामी धेरै साना छौ’ जस्ता गीत चर्चित भए ।

उनले सुदिन पोखरेलसँग गाएको ‘आँखाभरि नाच्छौ’ निकै सफल भएको थियो भने नविन के भट्टराईसँगको ‘यही हो त माया’ पनि चर्चित भएको थियो ।

सुदिन पोखरेल DA69

सुदिन पोखरेल र्‍यापर तथा गीतकार हुन् । गायक सुगम पोखरेलसँग मिलेर सांगीतिक यात्रा सुरु गरेका उनले केही समयको अन्तरालमा गिरीश-प्रनिलसँगै र्‍याप गायन थालेका थिए । जीपीसँग उनले DA69 का रुपमा सन् २००१ मा ‘म यस्तो छु, म उस्तो छु’ गाएका थिए । प्रनिलको गीत ‘आँखाभरि नाच्छौ’ मा पनि उनले र्‍याप हानेका थिए ।

पछि उनले द युनिटी ब्यान्ड बनाएर आसिफ शाह, सुगम पोखरेल लगायतलाई फिचर गर्दै गाएका थिए । गिरीशले पनि द युनिटीसँग सहकार्य गरेर गिरीश एन्ड द युनिटीका रुपमा गीतहरु सिर्जना गरे । गायक क्रान्ति आलेलाई फिचर गरिएको यो समूहको ‘सि इज द बम’ गीत निकै प्रसिद्ध भएको थियो ।

आफूहरुको गीत त्यसबेला लोकपि्रय हुनुको कारणबारे सुदिन भन्छन्, ‘कसैले गाह्रो शब्दमा र्‍याप गर्छन् । तर हामीले सरल र जनजिब्रोमा भिज्ने खालका शब्द राखेकोले धेरैले रुचाए ।’

र्‍यापलाई छुट्टै सिर्जना नठानी गीतभित्र खाली ठाउँ भर्ने वस्तुको रुपमा मात्र हल्का रुपमा सोचिँदा त्यसबेला उनीसहितका प्रारम्भिक र्‍यापरहरुले र्‍यापको मात्र गीत निकाले । खाली ठाउँ भर्ने कतिपय प्रस्ताव उनीहरुले अस्वीकार समेत गरेका थिए । त्यस क्रममा द युनिटीले र्‍यापको शैली र शक्ति बुझाउन ‘व्याकरण अफ र्‍याप’ एल्बम नै निकालेको थियो ।

सन् १९९८ देखि २०११ सम्म संगीतमा सक्रिय भएका सुदिन त्यसपछि विदेशिएर अष्टे्रलिया पुगे । हाल सिड्नीमा रहेका उनी पूरै समय परिवारलाई दिइरहेको बताउँछन् । संगीतमा क्रियाशील नरहे पनि उनले फुर्सदको समयमा गीत भने लेख्ने गरेका छन् ।

नेपालमा समसामयिक विषयको तुलनामा बढीजसो माया-प्रेमका गीत लेख्ने गरेका उनको विदेशमा पुगेपछि गीत लेखनको धार नै बदलिएको छ । यसबारे उनले भने, ‘विदेश आएपछि देशभित्र यो-यो ठाउँमा कमी रै’छ भन्ने कुरा समेटेर लेख्न मन लाग्दो रै’छ ।’

निर्णय NSK

निर्णय श्रेष्ठ नेप-हपको इतिहासमा अर्का छुटाउन नहुने कलाकार हुन् । निर्णय एनएसके नामबाट परिचित उनी र्‍यापर्स युनियनका सदस्य हुन् । र्‍यापर्स युनियनमा निर्णयसँगै सम्राट पनि संलग्न थिए । तर, समूह निरन्तर बढ्न नसके पनि नेपाली हिपहप जगतमा क्रियाशील रहँदै निर्णयले आफ्नो परिचय स्थापित गरे । र्‍यापरहरुले विशेष गेटअप र ड्रेसअप गर्ने गरेकोमा निर्णयको विशेषता हो, रातो क्याप ।

निर्णयका ‘म नेपाली’, ‘गाउँले जीवन’, ‘केटी तिमी कति राम्रो देखेको’ जस्ता गीतहरु चर्चित छन् । पछिल्ला वर्षहरुमा उनी शिक्षाको लागि संगीतको उद्देश्य लिएर टुरमा छन् । उनी हाल नयाँ एल्बम ‘एक नेपाल एनएसके स्टाइल’ को तयारीमा छन् ।

लाउरे

जन्म १९८९ जुन २५ मा जन्मिएका लाउरे पोखरा निवासी हुन् । उनको वास्तविक नाम आशिष राना मगर हो । उनी र्‍यापर, गीत लेखकका साथै कलाकार पनि हुन् । उनले नम्रता श्रेष्ठसँग फिल्म ‘ताण्डव’ मा अभिनय गरेका थिए ।

लाउरे पछिल्लो समय यमबुद्धसँगको संगतमा ‘र्‍याप ब्याटल’ मा पनि सक्रिय थिए । र्‍याप ब्याटलबाटै उनी सन् २०१३ देखि चर्चामा आएका हुन् । उनका गीतमा व्यक्तिगत निराशा, सामाजिक विकृतिको चित्रण गरिनुका साथै त्यसको निराकरण गर्नुपर्ने भाव व्यक्त भएको पाइन्छ ।

नेप्साइडज

सन् २००० मा स्थापित यो ब्यान्ड नेपाली हिपहप संगीतमा केन्द्रित समूह हो । किरण श्रेष्ठ, मानस घले र ज्ञानन चित्रकार ब्यान्डका सदस्य हुन् । मानवीय आशा-निराशाका गीतसँगै यो ब्यान्डले खासगरी प्रेम-प्रणयका गीतहरु सिर्जना गरेको पाइन्छ । ‘माया ओ माया म गर्छु तिमीलाई नै’ यो ब्यान्डको चर्चित गीत हो । ब्यान्डको ‘केटीएम रियालिटी’ (२००३), ‘मेड इन नेपाल’ (२००५), ‘आयो नेप्साइडज’ (२००८) लगायत एल्बम निस्किएका छन् ।

यमबुद्ध

धनकुटाको लेगुवामा १९८७ मे ३० मा जन्मिएका अनिल अधिकारी र्‍याप संगीतमा लागेपछि यमबुद्ध नामले चर्चित भए । सन् २००२ देखि र्‍यापमा लागेका उनी २००७ यता सक्रिय थिए ।

गिरीश, प्रनिल र सुदिन लगायतले लोकपि्रय बनाएको नेपाली र्‍यापलाई युवाहरुमा भिजाउने र फैलाउने काम यमबुद्धले गरे । यस क्रममा सन्देशमूलक गीत गाउँदै र्‍यापलाई समाजसँग जोड्ने प्रयास समेत उनले गरे । अमेरिकी र युरोपेली देशहरुमा चलेका अन्डरग्राउन्ड र्‍याप ब्याटल (दोहोरी शैलीको वाक्-युद्ध) का उनी पारखी थिए । त्यसैको प्रभावबाट उनले नेपालमा युनिक पोएट, कोलिन विक्रम राणा, साकार लगायतको साथमा ‘र्‍याप ब्याटल’ को सुरुवात गरे ।

उनी पछिल्लो समय बेलायतको लन्डनमा बस्दै आएका थिए । गत जनवरी १४ तारिखमा उनी निवासमै मृत अवस्थामा भेटिएका थिए ।

माथि उल्लिखित र्‍यापरका साथै बालेन शाह, युनिक पोज, एमसी एफएलओ, किरण श्रेष्ठ लगायत र्‍यापरहरु पनि सक्रिय छन् । उनीहरुसँगै नयाँ र्‍यापरहरु साकार, भी-टेन (समीर घिसिङ), मिस्टर.डि,महाकाल, लिटल गि्रल, एक्सभाव, एयरइज,भायोमा लगायत धेरै जना नया-नयाँ सिर्जनामा लागिरहेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here