स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने युवाहरुको चेतावनी

Sharing is caring!

वीरगञ्ज २४ श्रावन । वीरगञ्जमा कोभिड संक्रमण नियन्त्रणमा स्थानीय प्रशासनको भूमिका शून्य भएको भन्दै युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका छन् ।

विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनका नेताहरुको शनिबार भएको भेलाले यस्तो चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारीकै गैरजिम्मेवारीका कारण वीरगंजमा समुदायस्तरमै कोभिड संक्रमण फैलिएको भन्दै कोभिड नियन्त्रणमा स्थानीय प्रशासन निकम्मा देखिएको भेलाले ठहर गरेको छ ।

भेलापछि जारी विज्ञप्तिमा स्थानीय प्रशासनको हेलचेक्रयाइले नै पछिल्लो समयमा निजी अस्पतालले कोभिड बाहेकका बिरामीलाई पनि उपचार बन्चित गराइरहेको ठहर गरेको छ । उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासन चुकेको भन्दै भेलाले अब स्थानीय प्रशासनकै बिरोधमा उडकमा उत्रनुको विकल्प नदेखिएको बताएको हो ।

सीमा क्षेत्रबाट आवतजावत कडा बनाउन पर्नेमा स्थानीय प्रशासनकै मिलेमतोमा आवतजावत भइरहेको भन्दै यसलाई तत्काल रोकेर संक्रमण फैलनबाट नरोकिएसम्म आइसीपी संचालनमा पनि रोक्नु पर्ने युवाहरुको माग छ ।

अहिलेसम्म प्रमुख जिल्ला अधिकारीको सक्रिय भूमिका पर्साबासीले देख्न नपाएको भन्दै जिल्लाको बागडोर संहालेर बसेका प्रमुख जिल्ला अधिकारीलाई ८ बुँदे सुझाव पनि दिएको छ ।

भेलामा राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिन, जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य जुबेर आलम, अनेरास्ववियू पर्साका सह-संयोजक मित्रदेव यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here