भ्वाइस अफ नेपाल सिजन टुबाट थाहै नदिई निकालिएकोमा अभयाको आक्रोश (भिडियो)

Sharing is caring!

संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ सिजन टुको घोषणा भएसँगै यसमा दुईजना कोच परिवर्तन भएपछि ठूलै खैलाबैला भयो । सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । उक्त चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोज खरेल सिजन टुमा यथावत रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । उनीहरुको सट्टामा राजु लामा र आस्था राउतको इन्ट्रि भएको छ ।

सिजन वानमा चर्चाको केन्द्रमा रहेका अभया सुब्बा र सनुप पौडेललाई आखिर सिजन टुमा किन छैनन् ? यो चर्चाको विषय बन्यो ।

भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले एक अनलाईन मिडियालाई अभया सुब्बा ग्रान्ड फिनालेमा सहभागी नभएका कारण हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि आफूहरुले उनको विकल्प खोज्नुपरेको बताएका थिए ।

जसमा अभया सुब्बाले घोर आपत्ति जनाएकी छिन् । अभयाले सोमबार आफ्नो ब्यान्डको आधिकारिक युट्युब अकाउन्टमा भ्वाइस अफ नेपालका निर्देशकको भनाई खण्डन गरेकी छिन् । उनले आफूलाई थाहै नदिइ भ्वाईसबाट निकालेको पनि उनले बताइन् । उनले भ्वाइस अफ नेपालमा जसले अत्यधिक मेहनत गर्‍यो उसैलाई निकालियो भन्दै चित्तसमेत दुखाएकी छिन् ।

१३ मिनेट लामो उक्त भिडियोमा फिनालेमा उपस्थित नहुनेबारे आफूले तीन महिनाअघि देखि नै भ्वाइसको व्यवस्थापनलाई जानकारी दिएको र उनीहरुले नै आफूलाई मेलबर्नमा कन्सर्टका लागि जान अनुमती दिएको जानकारी दिइन् । उनले यसबारे गरिएको एसएमएसलाई पुष्टिको रुपमा उपलब्ध गराएकी छिन् ।

आफ्नो अनुपस्थितीबारे ‘हेडक्वार्टर’ लाई पूर्ववत् जानकारी उपलब्ध नगराउनु भ्वाईस कै गल्ती भएको उनको ठम्याइँ छ ।

आफूलाई भ्वाइसबाट निकालिनुमा जुन कारण उनीहरुले दिए, त्यसमा पनि अभयाको आपत्ति छ । उनले भनिन्, ‘उनीहरुले मलाई अब भ्वाइसमा रक म्युजिक चाहिँदैन भनेको भए हुन्थ्यो । त्यहाँ रक म्युजिक गर्ने कोही कोच नै छैन । उनीहरुले भ्वाइसमा अंग्रेजी गीत पनि नचाहेको भन्ने सुनेको छु, त्यसैकारण मलाई निकालेको भनेको भए पनि त हुन्थ्यो । फिनालेमा उपस्थित नभएको भन्दै यस्तो मूर्ख कारण देखाएकोमा मलाई आपत्ति छ ।’

उनले भनिन्, ‘भोइस अफ नेपाल, सही कारण देउ ।’

उनले भ्वाइस अफ नेपाल बाहिर हेर्दा जति राम्रो र व्यवस्थित देखिन्छ भित्र अत्यधिक अव्यवस्थित हुने गरेको बताइन् । यो नै भ्वाइसको ठूलो समस्या भएको उनको बुझाई छ । उनले भनिन्, ‘त्यहाँको व्यवस्थापन निकै तल्लो स्तरको छ । उनीहरुले मलाई कार्यक्रम मे महिनामा सुरु भएर नोभेम्बरमा सिद्धिने बताएका थिए । मेमा भएन, जुनमा पनि भएन । जुलाई ११ मेरो युरोप टुर थियो । युरोप जान टिकट, भिसा सबै मिलिसकेको थियो । त्यति नै बेला उनीहरुले मलाई युरोप जान नसक्ने बताए । त्यो मैले रद्द गरेर भ्वाइसमा बसेँ । त्यो कुरा उनीहरुले कहिले पनि गरेनन् । हामीले यस्ता त्याग गर्नुपरेको थियो ।’

उनले आफूलगायत सनुप पौडेललाई पनि कुनै जानकारी नै नदिई निकालेको बताइन् । उनले भनिन्, ‘मलाई र सनुपलाई थाहा थिएन कि हामी सिजन टुमा छैनौं भनेर । गाइँगुइँ हल्ला सुनेपछि सनुपलाई फोन गरेँ, यसबारे आफूलाई केही पनि आधिकारिक जानकारी नभएको उनले बताए । ’

यसबारे भ्वाईसका कार्यकारी निर्माता एवं प्रस्तोता सुशिल नेपालसँग पनि कुरा गर्दा उनले यसबारे आफूलाई यसबारे केही थाहा नभएको, यसमा आफ्नो कुनै पनि संलग्नता नभएको उनले बताएको अभयाले जानकारी दिइन् ।

उनले भनिन्, ‘उनीहरुले यो पनि महसुस गरेनन् कि उनीहरुले हामीलाई थोरै भएपनि सम्मान गर्नुपर्छ । उनीहरुले हामीलाई दोस्रो सिजनमा हामी नभएको जानकारी गराउनुपर्दथ्यो । अन्तरराष्ट्रिय शोमा यतिसम्मको व्यवसायिकता त छैन भने हामी नेपाल कहाँ छौं भनेर बुझ्न सक्छौं । ’

अन्तरराष्ट्रिय भोइसमा यदि कोही कोच नभएको खण्डमा तीन महिनाअघि देखि नै यसबारे जानकारी दिइन्छ । उनले भनिन्, ‘यसपाली एडम लभिन थिएनन्, उनी नभएको जानकारी कार्यक्रम सुरु हुनु तीन महिनाअघि नै दिइएको थियो । ’

‘उनीहरुले मलाई यसरी सार्वजनिक हुन बाध्य बनाए जुन निकै अपमानजनक हो,’ उनले भनिन् ।

भ्वाइसको पहिलो संस्करणमा आफू निकै खटेको र यसका लागि अत्यधिक मेहनत गरेको पनि उनले बताइन् । उनले हाँस्दै भनिन्, ‘जसले खट्छ, जसले इमान्दारिताका साथ काम गर्छ उसैलाई निकाल्दो रैछ के ।’

उनले प्रशंसकलाई आफ्नो लागि चित्त नदुखाउन पनि आग्रह गरेकी छिन् । साथै उनले नयाँ कोचहरुप्रति आफ्नो कुनै समस्या नभएको पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनेकी छिन्, ‘आस्था एक महिला हुन्, उनलाई मौका दिनुपर्छ । राजु लामा पनि निकै उत्कृष्ट छन् ।’

भोइस अफ नेपालबाट पाएको इज्जत आफू फिर्ता लिन चाहेको उनी बताउँछिन् । उनले भनिन्, ‘हामीलाई पहिले नै भोइसमा छैन भनेको भए एउटा इज्जत त हुन्थ्यो । अब मैले त्यो इज्जत फिर्ता लिनुपरेको छ ।’

आफू राम्रो काम गर्नेहरु र आफूजस्तै सोझोहरुको अधिकारका लागि उभिएको उनले बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here