श्रमजीविबाट समाजसेवी : पशुपति गुरुङ

Sharing is caring!

  • प्रकाश समीर

श्रमलाई पुजा गर्ने संस्कार संसारभरि नै छ । आज जति पनि मुलुकहरु समृद्ध बनेका छन्, विकासको जुन उचाईमा पुगेका छन्, ती सबै देशहरु श्रमकै माध्यमबाट त्यो उचाईमा पुगेका हुन । श्रम नै सार्थक जीवनको बलियो आधार हो । संसारका राजनीतिक, सामाजिक होस् या आर्थिक नै किन नहोस् अझ कुनै पनि वर्ग र क्षेत्रमा सफल हुनेहरु श्रमको सम्मान गरेर नै सफल भएका हुन । यो कुरा पछिल्लो समयमा समाजमा जागरण फैलाउँदै आइरहनु भएकी समाजसेवी पशुपति गुरुङबाट पनि पुष्टी हुन्छ । पशुपति गुरुङको बाल्यकाललाई बुझ्दा उहाँ सानैदेखि जाँगरिली, फुर्तिली र मेहनती हुनुहुन्थ्यो । कुनै पनि काममा लागि परेपछि त्यसलाई पूर्ण गरेरै छाड्नु पर्ने स्वभाव उहाँमा थियो । उहाँ २०५१ सालमा श्रम गर्नकै लागि वैदेशिक यात्रामा जापान जानु भयो । त्यस अघि पनि नेपालमा रहँदा उहाँले केही संस्थाहरुमा श्रमजीविका रुपमा काम गरिसक्नु भएको थियो । २०५१ सालबाट सुरु भएको उहाँको बैदेशिक यात्रा झण्डै २२ वषर्सम्म कायम रह्यो । जापान पछि उहाँ कोरिया जानु भयो श्रम गर्नकै लागि । यसरी श्रमजीविका रुपमा लामोसमय प्रवासी भूिममा विताउनु भएकी गुरुङले त्यहाँ आफूले बगाएको पसिना र आज लाखौं नेपाली दाजुभाई, दिदीबहिनीहरुले बगाएको पसिनालाई स्वदेशमै बगाउनु पर्छ भन्ने सोच र अठोटका साथ नेपाल फर्किनु भयो । नेपाल कृषि प्रधान देश भएर पनि आज बाध्यता र विडम्वनाले वैदेशिक रोजगार प्रधान भईरहेको छ । हिजो आफू जसरी विदेशिनु पर्यो, आज हाम्रा लाखौं युवाहरु त्यसरी नै विदेशिनु परेको छ । अब हामी पछिको पुस्ताले त्यसैगरी विदेशिनु नपरोस्, स्वदेशमै श्रम गरेर खाने वातावरण तयार होस् भन्ने संकल्पसहित देशव्यापी जागरण अभियान लिएर गुरुङ अघि बढिरहनु भएको छ । लामोसमय प्रवासमा मजदुरी गरेर व्यवसायमा प्रवेश गर्नु भएकी गुरुङ भन्नुहुन्छ ‘काम नगरी न त व्यक्तिको जीवनमा समृद्धि आउछ, न त देशमा नै ।’ उहाँ काम गर्ने संस्कारको विकास भएकै कारण आज विश्वका धेरै देशहरु समृद्धशाली बनेका हुन भन्नुहुन्छ । नेपालीहरुमा काम नगर्ने, कुरा गर्ने संस्कार बढी हुनु नै दुर्भाग्य हो । भन्नु हुन्छ ‘सबै नेपालीहरुमा काम गर्नु पर्छ भन्ने संस्कार भयो भने र सबैले मर्नु पर्छ भन्ने बुझेर आफ्ना लागि मात्र होइन, देशका लागि पनि मैले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने हामी समृद्ध बन्छौं, देश समृद्ध बन्छ ।’ यो गुरुङको दावी हो ।

समाजसेवी पशुपति गुरुङ


गुरुङले यस्तै असल संस्कार सिकाउने अभियान चलाईरहनु भएको छ । सर्सती उहाँको जीवनीलाई हेर्दा उहाँ श्रमजीवि व्यक्तित्वबाट सामाजसेवी व्यक्तित्वको रुपमा उदाउनु भएको हो । श्रमलाई पुजा गर्ने संस्कारमा हुर्कनु र बढ्नु भएकी गुरुङ अझैं पनि आफूलाई एक श्रमजीविकै रुपमा परिचित गराउन चाहनु हुन्छ । भन्नु हुन्छ ‘कुनै काम, कुनै पेशा, व्यवसाय बिना समाजसेवा सम्भव छैन ।’ जापान र कोरियाबाटै श्रमको महत्व बुझ्नु भएकी उहाँले जुन दिन विदेशी भूमिमा पाइला टेकेर त्यहाँको वास्तविकताहरु देख्नु भयो, त्यहि बेलादेखि नै अब यहाँको असल संस्कारहरु सिकेर, आफ्नो देशमा गएर यी असल संस्कारहरु समाजमा विजारोपण गरेर देशलाई समृद्ध बनाउछु भन्ने संकल्प गर्नु भएको थियो । आफ्नो १० वर्षे कोरिया बसाईका क्रममा भएका केही घटनाहरुले समाजसेवामा पे्ररित गरेको बताउनु हुन्छ उहाँ । समाजलाई संस्कार सिकाउने महाअभियानकोे आरम्भ गर्नु भएकी उहाँ हरेक शनिवार विहान ८ बजे पछि राजधानी काठमाडौंका गल्लीगल्ली, चोकचोकमा जागरण अभियानमा निस्कनु हुन्छ ।

बसपार्कमा आयोजित जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्दै पशुपति गुरुङ


अब हामी कसरी संस्कार समाज नेपाल जन्मियो र कसरी अभियान चलिरहेको छ भन्ने विषयमा चर्चा गर्छौ उहाँकै शब्दमा ‘म २०५१ सालमा आफ्नो जन्मभूमिलाई छोडेर रोजगारी र अवसरको खोजीमा जापान पुगे । जापान पुगेपछि मलाई सबैभन्दा धेरै पीडा त्यहाँको समृद्धिले बनायो । मैले सुनेकी थिए, स्वर्ग र नर्क हुन्छ, त्यो क्षण मलाई स्वर्ग त पक्का यही हो भन्ने लाग्यो । म आएको देश नर्क हो कि भन्ने भान भयो ।’ ‘विस्तारै आफ्नो कर्ममा होमिए, अर्काको देशमा भनेको जस्तो सजिलो कहाँ हुन्थ्योर अर्काको देशमा भोक, निद्रा, प्यास केही नभनी काम गर्नु पर्ने बाध्यता थियो । हरेक नेपालीका लागि जस्ले आफ्नो देश छोडेर जान्छ । आफ्नी आमाको काख, आफ्नै आफन्तहरुको बात, मुलको पानी सम्झेर भोक, प्यास र निद्रा पुराउछ । म पनि बर्षौसम्म त्यसैगरी त्यतै हराए ।’ कमाई गरे पछि दुई चार पैसा खर्च गर्न सकिन्थ्यो, मिठो खाने कुरा पाइन्थ्यो, आँखाको प्यास मेट्ने गरी घुम्ने ठाउँहरु थिए, तर जव गाउँ सम्झियो घरपरिवार सम्झियो अनि देशको हालत सम्झियो मन अमिलो भएर आउँथ्यो । त्यो समय देशमा जनयुद्ध चर्किएको थियो । भाईभाई बीचमा काटमार, देशका भौतिक संरचनाको क्षतविक्षत अवस्थाले मन भक्कानिन्थ्यो । म हरेक समय सोच्थे, मेरो देशको त्यो अवस्था कहिले अन्त्य होला ? मेरो देश जापान जस्तै कहिले होला ? यस्तै यस्तै कुरा मनमा खेलिरहन्थे । जति जति यी आँखाले जापानको विकास हेर्दथे, म आफ्नै देशको राजधानी काठमाडौं सम्झिन्थे । त्यहाँ अन्डरग्राउण्ड मेट्रो बस चढ्थे म विक्रम टेम्पो सम्झिन्थे । यसैबीच मैले एक दिन संकल्प गरे, अब देशबाट बाहिर बसेर भावुक भएर हुँदैन । आफ्नै देशमा गएर केही गर्नु पर्छ । यही सोचेर म सन् २००४ मा नेपाल फर्किए । मेरो सोच दुई चार जनालाई रोजगारी दिन सक्ने खालको कृषि फर्म खोल्ने थियो । एउटा व्यवसायमा जोडिन्छु र बाँकी समय समाजसेवा गर्छु भन्ने अठोट लिएर म नेपाल फर्किएकी थिए । तर, नेपाल फर्किएकै दिन मलाई झन बढी पीडा भयो । एयरपोर्टमा ओर्लिएदेखि नै मैले देशको झन दुर्दशा आँखाले देखे । टाढाबाट सुन्नु र आफैले भोग्नु निक्कै पीडादायी हुँदो रहेछ । म जसोतसो एयरपोर्टबाट घरसम्म पुगे । देश पुरै तहसनहस भईसकेको रहेछ । मैले जापानबाट जे सपना लिएर आएकी थिए, त्यो कुनै पनि हालतमा सम्भव नहुने देखे । अलिअलि पैसा कमाएर आएकी थिए, तर नेपालमा केही गर्ने बातावरण नभएपछि बस्ने र खाने मात्र काम भयो । अलिअलि भएको पैसा पनि सक्किदै गयो । अन्तत : मैलेनचाहँदा नचाहँदै सन् २००६ फेव्रुअरी २ मा फेरी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गए । कोरियामा मैले १२ वर्ष विताए । त्यहाँ पनि जापानमा जस्तै कडा मेहनत गरे । एकदिनको घटना ईपिएसबाट कोरिया जानु भएको एक जना भाई एयरपोटबाट सिधै मेरो पसलमा आउनु भयो । भाईले प्लेनको यात्रा गर्दा एक कोरियन दम्पतीसँगै पर्नु भएछ । मैले भाईलाई यात्राको बारेमा सोधे । भाईले ८ घण्टाको प्लेनको यात्रा यसरी सुनाउनु भयो । दिदी काठमाडौं अन्र्तराष्ट्रिय विमानस्थलबाट कोरियासम्म पुग्दा त्यो जोडीको झगडा थामिएन । भर्खरै विवाह गरेको त्यो जोडी हनिमुन मनाउनका लागि नेपाल गएको रहेछ । श्रीमतीले हनिमुनका लागि युरोपको योजना बनाए पनि श्रीमान््को ढिपीका कारण उनीहरु नेपाल आएका रहेछन् । जब नेपालमा त्यो जोडी आयो आएकै दिनदेखि त्यो जोडिले शान्तिसँग घुम्न, डुल्न पाएनछन् । जताततै दूषित वातावरण, पर्यटकलाई नेपालीहरुले गर्ने व्यवहार, बन्द, हड्ताल, धुलो, धुवाँले उनीहरुको नेपाल बसाइ आरामदायी नभएको कुरा श्रीमतीको आक्रोशबाट व्यक्त भइरहेको थियो । जहाजभित्र श्रीमतीले श्रीमान्लाई नेपालतर्फ इङ्गित गर्दै प्रश्न गरिरहेकी थिइन् । यस्तो पनि देश हुन्छ ? यस्ता पनि मान्छे हुन्छन्, थुक्क तिम्रो बुद्धि ? समयको सत्यनाश, पैसाको सत्यनाश । ती श्रीमान् श्रीमतीसगँ माफी माग्दै थिए भने श्रीमती श्रीमान्लाई सही निर्णय लिन नसकेको भन्दै एकोहोरो गाली गरिरहेकी थिइन् । श्रीमान् पनि आफूले श्रीमतीको युरोप जाने चाहनालाई मारेर यस्तो देशमा ल्याए भनेर पश्चाताप मानिरहेका थिए ।’ एक महिनाका लागि नेपाल भ्रमणमा आएको त्यो जोडी एक हप्तामै फिर्ता भएको रहेछ । भाइले यो कुरा सुनाएर, अन्तमा भने ‘दिदी त्यो जोडीको त डिभोर्स नै भयो होला’ ? भाइको प्रश्नले मलाई झन झस्कायो । आफ्नो देशबाट कोरियामा भित्रिएको त्यो जोडीले कोरियामा बोकेर आएको सन्देश सम्झन थालेँ । भाइ पसलबाट गए, तर त्यो भाइले म माथि चिन्ता थपेर गएजस्तो भयो । मेरो मस्तिष्कलाई तरङ्गित बनाएर गए । मैले त्यो समयमा आफ्नो देशलाई धेरै सम्झिएँ । देशको हालत सम्झिएँ । त्यो भाइको कुराले मलाई असाध्यै पिरोल्यो, अहिले नै उडेर नेपाल जाउजँस्तो भयो जुन घटनाले मलाई झन पीडाबोध भयो । भाईको कुरा सुने पछि मलाई केही समयसम्म यति धेरै गाह्रो भयो कि कसैले मेरो मुटु नै निचोरेको जस्तै भयो । मैले केही समय सोच्नै सकिनँ । मैले समाजसेवा र आफ्नो देशमा गएर राष्ट्रका लागि जे जति गर्छु भन्ने सोचेकी थिएँ, यो घटनाबाट यति विक्षिप्त भएँ कि जसका कुनै सीमा नै थिएन । मलाई अब सोचेर बस्ने होइन, मेरो बिरामी देशको उपचारमा गर्न सेकेन्ड पनि ढिला गर्नुहुँदैन भन्ने लाग्यो ।

परिवारका साथमा समाजसेवी पशुपति गुरुङ


नेपालमा आएका पर्यटकहरुले गलत सन्देश बोकेर आफ्नो देशमा फर्किएपछि नेपालमा पर्यटन व्यवसायको अवस्था के होला ? संसार अहिले प्रविधिको एक ‘क्लिक’का भरमा चलेको छ । एक ‘क्लिक’को भरमा कुनै सन्देश संसारभर पुग्छ । त्यो जोडीले बोकेर जाने सन्देश के हुन्छ ? एक जना व्यक्तिभित्र हजाराँैं व्यक्तिहरु जोडिएका हुन्छन् । एक जनाले प्रवाह गरेको नराम्रो सन्देश चारैतिर फैलिन समय लाग्दैन । यसबाट घाटा कसलाई भयो त ? पक्कै पनि हाम्रो देशलाई भयो । यो अझ अल्पकालीन होइन दीर्घकालीन घाटा हो । यस्तो समयमा आएर हामीले गरेको ठूलो भूल हाम्रो देशका लागि, हाम्रो समृद्धिका लागि तगारो बन्छ ।


यही सोचेर म फेरी केही नयाँ सोच र संकल्प बोकेर नेपाल फर्किए । मैले विदेशबाट सिकेको पाठ ‘असल संस्कार नै समृद्धिको आधार’ हो । आज विदेशीहरुले आफ्नो देशलाई जसरी समृद्ध बनाएका छन्, उनीहरुमा कर्म गर्नु पर्छ भन्ने भावनाले नै हो । असल संस्कारले नै संसार जित्न सकिन्छ भन्ने चेतना छ उनीहरुमा त्यही सोच र चेतनाका कारण आज ती देशहरु संसारमा समृद्धिशाली देशका नामले कहलिएका छन् । मैले यही सिके, यही बुझे । मेरो देशमा यी दुई कुरा कसरी स्थापित गर्ने भन्ने योजनामा म तल्लीन हुन थाले ।

इटहरीका मेयर द्धारिकालाल चौधरीलाई मायाको चिनो प्रदान गर्दै समाजसेवी पशुपति गुरुङ


अन्तत : सबै नेपालीलाई असल संस्कार सिकाउने अभियानको थालनी गरे । सबैभन्दा ठूलो कुरा सोच हो, हाम्रो सोचमा भएको विकारलाई हटाउनु नै समृद्धिको एउटा सिढी चढ्नु हो भन्ने मेरो निचोड रह्यो र आरम्भ गरे समृद्ध राष्ट्र निर्माण महाअभियानको । फोहोरमैला सरसफाईबाट मैले अभियानको शुभारम्भ गरे पनि म आफ्नो संस्थाबाट ‘स्कूल स्कूलमा असल संस्कार, अन्र्तक्रियात्मक कार्यक्रम, विभिन्न जागरणमूलक विचार गोष्ठीहरुका माध्यमबाट हरेक नागरिकको मनमा असल संस्कारको विजारोपण गर्ने अभियानमा जुटेकी छु । यसकै लागि मैले संस्कार समाज नेपालको स्थापना गरे । आज सोही संस्थाका नामबाट राजधानी काठमाडौंमा १५० औं पटक भन्दा बढी अभियान संचालन गर्न सफल भएकी छु । अहिले अभियानमा विशेषगरी विद्यार्थीहरुको रुचि देखेकी छु, युवाहरुको चासो देखेकी छु । जति पनि स्थानमा मेरो नेतृत्वमा अभियान सम्पन्न भयो ती स्थानहरुमा धेरै फरकपनको आभाष मलाई मिलेको छ ।


भनिन्छ नि केही पाउनका लागि केही गुमाउनु पर्छ । मैले पनि आफ्नो प्रशस्त समय संस्थालाई दिएकी छु, सकेको अर्थ खर्चेकी छु । मैले पनि आफ्ना समय र केही रकम गुमाएकी छु तर, गर्व लाग्छ भेट्नेहरुले हजुरको अभियान ठीक छ भन्दा, अभियन्ताहरु व्यस्तताका वावजुद पनि समय मिलाएर सक्रिय रुपमा उपस्थित हुँदा, देशलाई आवश्यक अभियान यही हो भनेर दिनप्रतिदिन नयाँ नयाँ अभियन्ताहरु थपिदै जाँदा । मलाई विश्वास छ, अबको केही वर्षभित्रमा म यो अभियानलाई पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पुर्याउने छु । संस्थाबाट कुनै लेनदेन वा कुनै आर्थिक सहायता गरिने छैन । अभियन्ताहरु स्वतस्फूर्त ढंगले जोडिनु हुने छ । जोडिई रहनु भएको छ । म सबैलाई आफ्नो काम पहिलो प्राथमिकतामा राख्न आग्रह गदर्छु । घर, परिवारबाट बचेको समय मात्र संस्थालाई/अभियानलाई दिनुस् भन्छु । पहिले आफ्नो घर बलियो बनाउनु पर्छ, अनि बचेको समयले समाजसेवा गर्ने हो । हामी तीन करोड नेपालीहरु मध्ये केही लाख युवाहरुको बचेको समय यस्तै जागरण फैलाउनका लागि, जनचेतना अभिबृद्धिका लागि खर्च भयो भने पक्कै पनि हाम्रो समाज संस्कारसहितको बन्ने छ, हाम्रो मुलुक केही वर्षमै समृद्ध हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here