माधवले भने,ओलिसगँ कुरा केही मिलेको छैन: भ्रममा नपर्न आग्रह

Sharing is caring!

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्‍त्री केपी ओलीसँग कुनै प्रकारको सहमति नभएकोले त्यसबारेमा भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

नेपाल बिहीबार शितलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गरेको विषयलाई लिएर विभिन्‍न अनुमान र आशंका भएपछि नेपालले शुक्रबार सामाजिक संजालमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। उनले पार्टी एकताका लागि वार्ता गर्न र लचकता अपनाउन तयार रहेको बताउँदै भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

नेपालले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पस्ट पारेका छन्। उनले यसबारेमा कुनै किसिमको भ्रममा नपर्न र नअलमलिन आग्रह गर्दै सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा क्रियाशील रहन सबैलाई अपिल गरेका छन्। 

नेपालले भनेका छन्, ‘ २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले फोन गरेर भेट वार्ताका लागि आग्रह गरेपछि नेपाल बिहीबार बेलुका शितलनिवास पुगेका थिए। राष्ट्रपतिसँगको छोटो भेटवार्ता सकारात्मक नरहेको ब्रिफिङ बिहीबार राति नै उनले आफू पक्षीय नेताहरूसँग गरेका थिए। भण्डारीले बरिष्ठ नेताको नताले पार्टी एकता जोगाउन पहल गर्नुपर्ने आग्रह गर्दा नेपालले ओली नै एकताको सबैभन्दा ठूलो बाधक भएकोले यो अवस्था सिर्जना भएको बताएका थिए। नेपालसँग भेटवार्ता गर्नुअघि शितलनिवासमा राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष एवं प्रधानमन्‍त्री केपी ओलीसँग भेटवार्ता भएको थियो।

वैशाख २८ गते विश्‍वास मत लिने प्रधानमन्‍त्रीको कदममा पनि नेपाल पक्षले असहयोग गर्ने संकेत पाएपछि ओली नेपाललाई सम्झाउन फकाउन राष्ट्रपतिलाई समेत आग्रह गरेका थिए। उनले राष्ट्रियसभामा विपक्षीहरूसँग गठबन्धन गरेर नेपाल समूहले सरकार पक्षका उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध अलग्गै उम्मेदवार खडा गरेपछि त्यसलाई रोक्‍ने पहल गरेका थिए। राष्ट्रपतिले समेत त्यसबारेमा सोच्‍न नेपाललाई आग्रह गरेकी थिइन्। तर त्यो प्रयास असफल भएको छ। शुक्रबार बादलविरुद्ध नेपाल पक्षले विपक्षीसमेतको गठबन्धमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here