गण्डकी विश्वविद्यालयको शैक्षिक भवन निर्माण सुरु

Sharing is caring!

पोखरा : छिटै पठनपाठनको तयारीमा रहेको गण्डकी विश्वविद्यालयको शैक्षिक भवन निर्माण सुरु भएको छ। पोखरा ३२ ज्ञानकुञ्जमा पोखराका मेयर मानबहादुर जिसी र विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले भवनको मंगलबार शिलान्यास गरे। 

नेपाल सरकारबाट भोगाधिकार पाएको ३५४ रोपनी जमिनभित्रको केही भागमा विश्वविद्यालयले शैक्षिक भवन निर्माण थालेको हो। भवन निर्माणको जिम्मा खानी निर्माण सेवाले पाएको छ। ६ करोड ७४ लाख रुपैयाँमा ९ महिनाभित्र उसले भवन निर्माण पूरा गर्नुपर्ने सम्झौता छ। 

भवन निर्माण पूरा गरी पठनपाठन लगायत कामहरु पोखरा ३२ बाटै गरिने विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताए। उनले विश्वविद्यालयलाई स्थानीयको साथसहयोगका लागि धन्यवाद दिएका छन्। वडाध्यक्षले वडाको नवनिर्मित भवनसमेत विश्वविद्यालयलाई केही समयलाई दिएर गुन लगाएको चर्चा उनले गरे। 

मेयर मानबहादुर जिसीले ज्ञानको उत्पादन र देशकै निमार्णका जग्गा दान भएको बताए। ‘यो विश्वविद्यालय परम्परावादी विश्वविद्यालय नबनाइदिनोस् विनम्र अनुरोध छ,’ उनले भने। विश्वविद्यालय आइसकेपछि लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. गिरिधारी शर्मा पौडेलले बजारले खोजेको जनशक्ति उत्पादन गर्ने हेतुबाट प्रदेशले विश्वविद्यालय स्थापना गरेको सुनाए। ‘अरु विश्वविद्यालयले पढाइरहेका विषय डुुप्लिकेसन हुने गरी नपढाउने विश्वविद्यालय हो यो,’ उनले भने। 

गण्डकी विश्व विद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले सही किसिमको शैक्षिक गोरेटो विश्वविद्यालयले कोर्ने विश्वास दिलाए। उनले गुणस्तरीय कार्यक्रम ल्याउन लागेको पनि सुनाए। 

नीति तथा वित्त व्यवस्थापन, अर्थ संकलन तथा अन्तर्राष्ट्रिय सम्बन्ध, अनुगमन तथा मूल्यांकन जस्ता विषय सँगसँगै प्राविधिक शिक्षामा विश्वविद्यालयमा जोड रहने उनको भनाइ छ। 

खानी निर्माण सेवाका विदुर गौतमले कोभिडको असर नभए ९ महिनाभन्दा अघि नै काम पूरा गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘स्थानीयको साथ र सहयोग पाएँ भने भनेभन्दा छिटै काम पूरा गर्ने प्रतिबद्धता गर्छु।’

पोखरा महानगरपालिका वडा नम्बर ३२ अध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयको साथ सहयोग विश्वविद्यालयलाई रहने जनाए। करिब ७४ रोपनी क्षेत्रफलमा प्रशासनिक, शैक्षिक, प्रयोगशाला, क्यान्टिन (चमेना गृह) पुस्तकालय, गार्ड हाउस, खेल मैदान लगायत भौतिक संरचना निर्माण हुने छ। 

विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाका अनुसार पोखरा महेन्द्रपुलको भाडाको घरमा प्रविधिसम्बन्धी र पोखरा ३२ को वडा कार्यालय भवनमा स्पोर्टस् मेनेजमेन्टको पढाइ छिटै सुरु हुँदैछ। गण्डकी प्रदेश सरकारले पोहोर साल असोजमा गण्डकी विश्वविद्यालय ऐन ल्याएको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here