खेलकुदः अवसर र चुनौती

रचना
सलिना नगरकोटी
“युवा अभियन्ता”

नेपाली क्रिकेटमा रुचि भएको नेपालीहरुको केही समयको लागि एउटा समाचार निकै लोकप्रिय भएको थियो । नेपाली क्रिकेटका लोकप्रिय युवा खेलाडी सन्दिप लामिछाने भारतको प्रतिष्ठित प्रतियोगिता इन्डियन प्रिमियम लिग (आइपिएल) मा सहभागिता जनाउने दिल्ली डेयरडेभल्स टिममा छनौट भए । २० लाख भारुमा उनको प्रतिभालाई आइपिएलमा प्रयोग ल्याउने उक्त समाचारले नेपाली खेलाडीको क्षमताको परिचय गराएको छ । उनको आइपिएल यात्रा नेपाली क्रिकेट साथै खेलकुदको कोसेढुंगा सावित हुने कुरामा त कुनै शंका छैन । यस्ले नेपाली खेलाडीको परिचय पनि दिएको छ । यस बाहेक नेपाली फुटबलका लोकप्रिय खेलाडी रोहित चन्द पनि केही समयअघि इन्डोनेसियाका पर्सिजा जकार्ताको प्रशिक्षणको लागि अनुबन्धन भएका छन् । उनको यो सफलता पनि नेपाली फुटबलको लागि नयाँ आयाम बनेको छ । नेपाली फुटबल जगतमा निकै प्रतिभाशाली मानिने खेलाडी बिमल घर्ती मगर मोहन बगानसंग खेल्ने कुरा पनि भएको छ । आइ लिग क्लब मोहनको लागि फरवार्डका रुपमा उनलाई अनुबन्धन गरिएको कुरा केही समयअघि मात्र बाहिर आएको छ । यसैगरि अर्को आइ लिग क्लब मिनरेभा पञ्जावको लागि नेपाली फुटबलको गोलकिपर किरण चेम्जोङ अनुबन्धन भएका छन् । यो सब समाचार नेपाली खेलकुद प्रेमीहरुको लागि खेलकुदप्रतिको आकर्षण बढाउने राम्रो हतियार हो । नेपाली खेलकुदका यी युवा प्रतिभाको सफलताले खेलकुदमा रुचि हुने अन्य युवा र खेलकुदमा लगानी गर्ने हात पनि अब पुन ः सल्बलाउन थाल्नेछन् । समग्र खेलकुदको क्षेत्रमा नयाँ आशा र आयाम थपिएको छ । नेपाली खेलकुद प्रेमीको लागि यो नयाँ अवसर सावित हुनसक्नेछ । बिशेषतः युवाहरुको लागि यस्ले नयाँ आशाको ढोका खोलेको छ । युवा तथा खेलकुद क्षेत्रको विनियोजित वजेट २ अर्व २४ करोडले युवा तथा खेलकुद क्षेत्रमा पलाएको आश मेटिदैँ गएको समयमा नेपाली खेलकुदमा जल्दा बल्दा ताराहरुले यो आशलाई पुनः जगाएको छ । खेलकुद क्षेत्रमा आएको परिवर्तनले युवाहरुलाई यस प्रति आकर्षण त गरेको नै साथै यस क्षेत्रमा उनीहरुको लागि नयाँ अवसरको पनि सिर्जना गरेको छ ।
खेलकुद सबै उमेर समुहका लागि स्वास्थ्य र शारिरिक क्षमता अनुरुप विस्तार गर्न सके देशमा स्वस्थ्य नागरिकको भुमिका पुरा गर्न सक्ने स्थिती आउँछ । अहिलेको समयमा समग्रमा खेलकुदको बिकासका लागि साविक संरचना, लगानी र खेल व्यवसायिकतामा तहगत सरकारमा जिम्मेवारी हस्तान्तरण आफैमा चुनौतीका रुपमा रहेका छन् । निर्णायक तहमा नै युवाको खाँचो रहेको छ जस्को लागि स्थानीय तहबाट नै खेलकुदको जानकारी राख्ने युवाको लागि अवसर सावित हुन सक्छ । राष्ट्रिय खेलकुद निती २०६७ का मुख्य उदेश्यहरुलाई मध्ये नजर गर्ने हो भने खेलकुदलाई नेपालीहरुको जनजीवनको अभिन्न हिस्सा बनाउने कुरा उल्लेखित बनाइएको छ । बिद्यालय तहदेखि नै खेलकुदको केन्द्रबिन्दु बनाएर प्रतिभाको खोजी गर्न पनि आवश्यक छ । यसो गर्ने हो भने बालबालिकादेखि उनीहरुको खेलकुद क्षमता अभिबृद्धि भएर उक्त क्षमतालाई देशले अन्तर्राष्ट्रिय प्रतिभाको रुपमा खडा गर्न पनि सकिन्छ । उक्त नितीले खेलकुदमा निजी क्षेत्रको लगानीमा प्रोत्साहन गर्ने कुरालाई उल्लेख गराएको थियो यस्लाई सहि ढंगले कार्यान्वयन गराउने हो भने खेलकुदलाई व्यवसायिक बनाउन सकिन्छ । हाल नेपालमा भईरहेको बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सरकारी साधन स्रोतको अतिरिक्त निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट प्रतियोगिता आयोजना हुन सहयोग प्राप्त भईरहेको छ । हेर्ने हो भने खेल र खेलाडीको संख्यात्मक बृद्धिको आधारमा खेल पुर्वाधारहरुको बिकास गर्न पनि सकिएको छैन र गैरसरकारी क्षेत्रको लगानी पनि उल्लेख्य रुपमा बृद्धि गर्न सकिरहेको छैन । खेलक्षेत्रको पुर्वाधारको बिकासगर्ने, खेलकुद प्रतियोगिताको आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदभित्र देखिएको समस्याको कारण अझै पनि अन्योलमा देखिएको छ । बिभिन्न स्वार्थ समुहको अबरोधमा यस्को बिकास गुज्रिरहेको छ । राष्ट्रिय खेलकुद परिषदले नयाँ नेतृत्वलाई नयाँ सँवैधानिक व्यबस्था अनुसारको आफ्नो भुमिका निर्वाह गर्न अति नै आवश्यक रहेको छ ।
नेपालको सन्दर्भमा खेलकुदमा लाग्ने व्यक्तिहरुलाई खासै राम्रो दृष्टिकोणले नहेरिने परिपाटीले गर्दा पनि यसप्रतिको रुचिमा कमि आएको देखिन्छ । खेलकुद क्षेत्रको बिकासबाट समाजको सकारात्मक रुपान्तरणको लागि खेलकुदको पुर्वाधारमा बिशेष ध्यान दिई विगतमा भएको खेलकुद प्रतियोगितामा हुने म्याच फिक्सिङ, खेलाडीहरुको छनौटमा समस्या लगायतका नकरात्मक क्रियाकलापहरुलाई निरुत्साहित गर्न दक्ष प्रशिक्षक र दक्ष ब्यवस्थापकहरुको गुणस्तर अझ बढाउन अति आवश्यक देखिन्छ । यी सब चुनौतीहरुको सामना गर्नको निम्ती खेलक्षेत्रका सम्पुर्ण सम्बन्धित व्यक्ति, संघसंस्थाले भविष्यमा आफुलाई प्राप्त जिम्मेवारी अनुसारको कार्य गरि नेपालमा बिभिन्न प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गर्न नेपालकै दक्ष जनशक्ति र स्रोतसाधनको अधिकतम र सहि सदुपयोग गर्न सक्नेछ । खेलकुदको माध्यमबाट नेपालको आर्थिक, पर्यटन लगायत बिकासलाई प्रोत्साहन गर्नको लागि नेपाली खेलकुद क्षेत्रले महत्वपुर्ण सहयोग पु¥याउने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *