६८ जना यात्रुलाई असुविधा पर्ने भएकाले संचारमन्त्रीलाई पर्खन सकिएनः बुद्ध एयर

Sharing is caring!

काठमाडौं– प्रेस चौतारी र प्रेस सेन्टर रुपन्देहीले मंगलबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरले काठमाडौं नल्याएको भन्दै आरोप लगाएपछि बुद्ध एयरले उक्त आरोपको खण्डन गरेको छ। प्यूठानको गौमुखी गाउँपालिकामा मिडिया सम्मेलनमा सहभागी हुन गएका मन्त्री बाँस्कोटाले बुद्ध एयरको टिकट समेत लिइसकेको अवस्थामा बुद्ध एयरले छोडेको पत्रकार सम्मेलनमा आरोप लगाएका थिए। भैरहवाबाट काठमाडौं आउन सोमबार विमान स्थलनजिकै रहेका सञ्चारमन्त्री बाँस्कोटालाई बुद्ध एयरले नल्याएपछि मन्त्री र एयरबीच आरोप/प्रत्यारोप भएको हो।

तर बुद्ध एयरले मंगलबार नै विज्ञप्तिमार्फत सञ्चारमन्त्रीको आरोपको खण्डन गरेको हो। बुद्धले काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारण ७ बजे उडेर भैरहवामा ७ बजेर ३२ मिनेटमा अवतरण गर्नुपरेको जनाउँदै मन्त्री र उनको टोली सोमबारको उक्त उडानबाट नजाने र भोलि अर्थात् आज मंगलबार मात्रै जाने भनेकाले तुरुन्तै यात्रु भरेर फर्किनुपरेको उल्लेख गरेको छ।उसले विमानस्थलमा यात्रु भरेर उडानको तयारी गरिसक्दा पुनः सहायक प्रमुख जिल्ला अधिकारीले उडान रोक्न भने पनि मौसमी कारणले मन्त्रीलाई कुर्न नसकेको जनाएको छ।

बुद्धका अनसार विमानस्थल नजिकै रहेको भनिएको होटल टाइगर प्यालेसबाट २०/२५ मिनेट लाग्नसक्थ्यो तर त्यति समय कुर्दा मौसमको कारण उडान नै रद्द गर्नुपर्ने अवस्था आउने र ६८ जना यात्रुलाई असुविधा पर्ने भएकाले व्यवस्थापनको निर्णयअनुसार नै काठ माडौं उडान गर्नुपरेको हो।तर मन्त्री बाँस्कोटाले भने बुद्ध एयरले आफूलाई अलपत्र पारेको आरोप लगाएका थिए। पूर्वजानकारीविनै लुम्बिनीजस्तो पर्यटकीय स्थानमा बुद्धले आफूलाई अलपत्र पारेको उनको आरोप थियो।बुद्धले सोमबार राति ८ बजे भैरहवाबाट उडान भरेर ८ः४९ मा काठमाडौंमा अवतरण गरेको थियो।

हेर्नुहोस विज्ञप्ति जस्ताको त्यस्तै : सञ्चार मन्त्रीज्यूको उडानबारे बुद्ध एयरको ध्यानाकर्षण:विभिन्न सञ्चारमाध्यममा माननीय सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाज्यूको हिजो वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएको रहेछ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।१. वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२. काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।३.मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने बाध्यता रहेको थियो । त्यसै अनुरूप सबै यात्रुहरूलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करीब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नु हुने भन्ने जानकारी दिनुभयो ।

यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्‍थ्यो । सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान बाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here