के भएको थियो मिस नेपाल अडिसनमा? किन तात्यो सामाजिक सञ्जाल ?

Sharing is caring!

चैत्र २३, २०७५सजना बराल
काठमाडौँ — मिस नेपाल २०१९ का लागि लिइएको अडिसनको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा एक प्रतियोगीले मेकअप नगरेको र चस्मा लगाएको भन्दै निर्णायकले प्रश्न गरेकी छन् । त्यसबारे सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकमा अपलोड भएको २४ घण्टा पुग्न नपाउँदै भिडियोमा १९ हजार कमेन्ट र २७ हजार रियाक्सन आए । शुक्रबार साँझसम्म कम्तीमा १७ हजारले उक्त भिडियो सेयर गरिसकेका छन् ।

भिडियोमा प्रतियोगी युवतीलाई निर्णायक रचना गुरुङ शर्माले मेकअप किन नगरेको भन्दै प्रश्न गरेकी छन् । कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेको बताउने ती युवतीले आफूलाई मेकअप गर्न नआउने तर सिक्ने बताउँछिन् । गुरुङले चस्माको सट्टा लेन्स किन नलगाएको भनेपछि युवतीले धूलोको कारण चस्मा लगाउनुपरेको बताउँछिन् । मिस नेपालको कोरियोग्राफरसमेत रहेकी गुरुङले उनलाई कपाल पछाडि लग्न अह्राउँछिन्, ५६ सेकेन्डको भिडियो यत्तिकैमा सकिन्छ । फेसबुक, ट्वीटरतिर भिडियो हेरेपछि अधिकांशले गुरुङको आलोचना गरेका छन् । फेसबुकमा पोखरेल बिमलाको प्रतिक्रिया यस्तो छ, ‘बौद्धिकताको कदर गर्न सिक्नु । मेकअप गरेर जोकोही राम्रो हुन सक्छ, मनको सुन्दरतालाई चिन्न सुन्दर मन नै चाहिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here