विप्लवलाई प्रचण्डको प्रश्न- मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त?

Sharing is caring!

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको बताएका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिनु दु:खद भएको उनले बताए।

‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाउनुभएको छ रे,’ वाइसिएलले बिहीबार पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान कार्यक्रममा उनले भने, ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त?’

आफूलाई मार्न टिम खटाउनेहरूलाई देखेर दया लागेको उनले बताए।

‘ती साथीहरूलाई देख्दा दयामाया लागेको छ। सोच्नुस्, राम्रोसँग भनेको छु,’ दाहालले भने।

राज्य कानुनअनुसार अघि बढ्ने बताएका उनले जनयुद्धको योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति प्रक्रियाको पनि नेतृत्वकर्ता भएकोले अन्तिमसम्म लडिराख्ने बताए।

विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको उनले बताए।

‘नक्कलले दु:ख पाउनुबाहेक अरू केही हुन्न। मेरो स्कूलको नक्कल गरेर पास भइँदैन। सक्कल गरे पो पास भइन्छ,’ दाहालले भने, ‘जनयुद्धकै बेला मैले ज्ञानेन्द्रलाई महेन्द्रको कलाविहीन नाटक भनेको थिएँ। नौटंकी भनेको थिएँ। भयो त्यस्तै। आखिर उनले दरबार छोड्नु पर्‍यो।’

देशमा राजतन्त्र पनि नभएको र २०५२ सालको जस्तो परिस्थिति पनि नभएकोले विप्लवले सोचेजस्तो केही गर्न नसक्ने उनले बताए।

‘यो ०५२ साल होइन। देशमा राजतन्त्र छैन। हिजो सँगै लडेका साथीहरूको सरकार छ, अनि परिस्थिति हेर्नु पर्दैन?,’ दाहालले भने, ‘अर्को प्रचण्ड बन्छु भनेर हिँडेका छन् सजिलो छैन। म प्रचण्ड बन्छु भनेर हिँडेकै होइन। जनताले प्रचण्ड बनाइदिएका हुन्।’

उनले प्रचण्डको नक्कल गरेर प्रचण्ड भइँदैन भन्ने राम्रोसँग बुझ्न पनि उनले आग्रह गरे। ‘प्रचण्डकै नक्कल गरेर प्रचण्ड भइँदैन। यही समयमा फेरि नयाँ प्रचण्ड बन्दैन। हिजोका साथीहरूलाई यो सल्लाह दिइराखेको छु,’ उनले भने।

जनयुद्ध लडेका सहिद तथा बेपत्ताजनसहित नेताबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले त्यो परिवर्तनबाट अब पछि हट्न नसकिने उनले बताए।

‘महान् सहिद र बेपत्ताका परिवारजनका अगाडि बसेर म भन्छु परिस्थिति ०५२ सालजस्तो छैन। हाम्रै कारणले परिवर्तन आएको छ। यसलाई उल्ट्याउने भनेको निरंकुशतातिर लैजाने हो,’ उनले भने।

उनले सहिद तथा बेपत्ताजनका परिवारलाई आफूहरूको नेतृत्वमा दुई तिहाइको सरकार रहेकोले निराश नहुन आग्रह पनि गरे। परिवर्तन ल्याउन साथ र सहयोग गर्नेलाई कुनै आग्रह वा पूर्वाग्रह नराखी कन्जुस्याइँ नगरी सहयोग गरिने उनले बताए।

सहिदलाई सम्मानका लागि जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल र झापा विद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली दिन आफू ती ठाउँ पुगेको उनले बताए। ठूलो पार्क बनाएर सहिदको नाम लेख्ने र ती स्मारक ऐतिहासिक बनाउन सके परिवारजनलाई पनि खुसी आउने उनले बताए।

‘ठूलो पार्क बनाएर सहिदका नाम लेख्न सकियो र ती स्मारक ऐतिहासिक ठाउँ बनाउन सकियो भने मात्रै नखुलेका मनहरू र कैयौं प्रश्न गुठिएका मन चंगा हुन्छन्,’ दाहालले भने, ‘सहिदले गरेका काम राम्रा रहेछन्, युगयुगसम्म पनि सम्मानित हुने रहेछन् भन्ने दिन आउँछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here