अष्ट्रेलियामा धर्मगुरुलाई ६ वर्ष जेल

Sharing is caring!

अष्ट्रेलिया — क्याथोलिक चर्चको सबैभन्दा ठुलो पदमा पुगेका अष्ट्रेलियाका धर्मगुरु कार्डिनल जर्ज पेललाई दुई बालकमाथि यौन शोषण गरेको आरोपमा ६ बर्षको जेल सजाय सुनाइएको छ । करिब ५ साताको लामो सुनवाईपछि उनलाई बुधबार जेल सजाय सुनाइएको हो ।

सन १९९६ मा मेलबर्नको चर्चमा १३ वर्षका दुई बालकलाई यौन शोषण गरेको ठहर गर्दै बुधबार मेलबर्नको भिक्टोरियन कन्ट्री अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको हो। उनले अनिवार्य रुपमा ३ बर्ष ८ महिना जेल बस्नु पर्नेछ। त्यसपछि मात्र उनी पेरोलका लागि योग्य हुनेछन्। स्थानीय सञ्चारमाध्यहरुका अनुसार काडिनल पेलले सन १९९६ मा मेलबर्नको सेन्ट प्याट्रिक चर्चमा आर्चबिसप रहेको समयमा केथेड्रलमा गाना गाउने दुई बालकमाथि यौन शोषण गरेको आरोप लागेको थियो। अष्ट्रेलियाबाट क्याथोलिक चर्चमा सबैभन्दा उच्च स्थानमा पुगेका उनी आरोप लागेपछि केही महिनाअघि उक्त आरोप बिरुद्ध लड्न रोमबाट मेलबर्न आएका थिए।

उनले शुरुदेखि नै आफुबिरुद्ध लागेको आरोपको कडा रुपमा खण्डन गर्दै आएका छन्। उनले आफु निर्दोष रहेको भन्दै अदालतको निर्णय बिरुद्ध माथिल्लो वकिलहरुले अदालतमा अपिल समेत गरेको बताइएको छ। उनका बिरुद्धमा परेको मुद्दा सुन्न सयौंको संख्यामा सर्वसाधारणहरु अदालतअघि भेला भएका थिए। उनको मुद्दामा निर्णय गर्दै मुख्य न्यायाधीश जज पिटर किडले उनले गरेको कार्यले पीडितहरुले गरेको विश्वासमाथि अन्याय भएको बताएका थिए। भ्याटिकनका ट्रेजररसमेत रहिसकेका उनलाई भ्याटिकनले ‘सेक्रेटरियट अफ द इकोनोमी’ बाट पदमुक्त गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् भने उनीमाथि लागेको आरोपको छानविन गर्न भ्याटिकनले छानविन समिति समेत बनाएको उल्लेख गरिएको छ।
सन १९६६ देखि पादरीका रुपमा काम गर्न शुरु गरेका उनले युनिभर्सिटी अफ अक्सफोर्डबाट चर्चको इतिहास बिषयमा बिद्याबारिधी गरेका छन्। क्याथोलिक गुरुहरुमध्ये अत्यन्तै सम्मानित र उच्चमध्येको पद मानिने कार्डिनल पदमा रहिसकेका उनको जेल सजायका बारेमा केही समयपहिले अदालतले कुनैपनि सञ्चार माध्यमहरुलाई उनी सम्बन्धि खबर सार्वजनिक गर्न ‘सम्प्रेसन अर्डर’ जारी गरेको थियो। तर केही साताअघि उक्त आदेशलाई हटाएको थियो।

अष्ट्रेलियामा पछिल्लो समयमा क्याथोलिक चर्चहरुमा बालकहरुमाथि भएको शारीरिक शोषणका बारेमा हजारौं उजुरी परिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन्। सरकारले पीडितहरुको उजुरीपछि यससम्बन्धि छानविन गर्नका लागि रोयल कमिसनको स्थापना गरेको थियो। अष्ट्रेलियाको केन्द्रीय सरकारले पीडितहरुलाई न्याय दिने उद्देश्यले नेशनल रिड्रेस स्किम नै केही महिनाअघि सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here