प्रदेश ५ को सभामुख पुर्णबहादुर घर्ती: माओवादी केन्द्र

राजनिती

२९ माघ २०७४, बुटवल ।

माओवादी केन्द्रले प्रदेश ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ ।

यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए ।

यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए । प्रदेश ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *