कविता-सगरमाथा ; आशिष खनिया

रचना

२३ माघ २०७४, कालिकाखबर।
(कविता:-सगरमाथा )


चिसो हिमाली बतासको बिदाईसङ्गै
पिठ्युमा रित्तो अक्सिजनको सिलिन्डर बोकेर
बेस क्याम्प झरेका आरोहीसंग
सगरमाथाले कहिल्यै सोधेन
उसको देश कहा थियो ?
उसको जात के थियो ?
उसको भाषा कस्तो थियो ?
सगरमाथाले कहिल्यै कसैको परिचय पत्र खोजेन
न त उसले आफु अग्लो हुनुको प्रमाणपत्र नै मागेको छ
उसले पहाडी र मधेसीमा भिन्नता खोज्दैन
उ गोरो र कालो रंग छुट्टाउन सक्दैन
किन चुपचाप मौनतामा रमाईरहन्छ ?
उ मानिसजस्तो महान हुनुको घमण्ड किन गर्दैन

युगौ युग बदलियो
पुस्तौ पस्ता बदलिए
तर युगले सगरमाथालाई बदल्न सकेन
जवान बुटमा ठाट्टीदै
हजुरबाले चढेर आएको सगरमाथा
नातीनिले गुगलमा हेर्दासम्म
उ आफ्नै रुप लिएर बसिरहेछ
उ किन पुरानो हुन चाहादैन ?
नातिनी हजुरबालाई प्रश्न गरिरहेकी छ

के उसले सुन्योहोला ?
पहिलोपटक
आफ्नो पिठ्युमा बुई चढेर शिखर चुमेका
दुई आरोहीका सफलताका कथाहरु
आफ्नो चिसो छातीमा कठ्याङ्गरिदै
जीवनको अन्तिम सास फेरिरहेकी
पासाङ्गको नाडी समातेर
किन उठाउन सकेन
र खुवाउन सकेन यार्सागुम्बाका कलिला मुनाहरु
प्रश्नहरु पूर्णबिराम लगाएर सुतिरहेछन
आज म तिनै कयौ प्रश्नहरु बोकेर
उ संगै उभिरहेको छु
तर उ आजपनि मौनतामा हराईरहेछ
मानौ उ द्वन्दकालमा सेलाएको चिसो शरीर हो
मलाई चिमोट्न मन छ
उसलाई ब्युझाएर सोध्न मन छ
उसको मौनता को परिभाषाहरु
सगरमाथा
धेरै युगहरु उकाली चढिरहदा
तिमि साक्षी बनेर उभिरह्यौ
आउ आज मसंग एकपल्ट पलेटी कसेर बस
मलाई हाम्रो सामिप्यताको सेल्फी खिच्नुछ।

1 thought on “कविता-सगरमाथा ; आशिष खनिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *